काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा यसको सकारात्मक असर शेयर बजारमा पर्दै गएको छ । तिहारपछि खुलेको बजारले बुलिस ट्रेन्डलाई समात्दा बजारमा यसले रौनक थपेको हो ।
तिहार बिदा हुनुअघि शेयर बजार १८५८ अंकमा रहेकोमा अहिले १०० भन्दा बढी अंकले बढेर १९६५ बिन्दुमा पुगको छ । यसरी बजार बढ्नुको पछाडि चुनावी खर्चका लागि बजारमा रकम प्रवाह हुनु मुख्य कारण मानिएको छ ।
चुनावका लागि सरकारले निर्वाचन आयोग र सुरक्षा निकाय समेतका लागि झण्डै २० अर्ब रुपैयाँ बजेटको सुनिश्चिचता गरेको छ । त्यसबाहेक उम्मेदवारहरुले समेत आआफ्नो तवरबाट २९ लाखदेखि ३३ लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ । यो रकम धमाधम खर्च हुन थाल्दा बजार चालयमान हुन पुगेको हो ।
साताको पहिलो दिन आज आइतबार मात्रै बजार ४३ अंकले बढेको छ । आज बजारमा १ अर्ब ५४ करोड रुपैयाँको शेयर कारोबार भयो । बजारमा कारोबार भएकामध्ये आज सिटिजन्स बैंक बाहेक सबैको मूल्य बढेको छ ।
बजारमा अहिले भइरहेको उछाल चुनावपछिसम्म रहनसक्ने विज्ञहरु बताउँछन् । त्यसपछिको अवस्थामा अर्थतन्त्रको अवस्था, सरकारी खर्च र वित्तीय स्रोतको उपलब्धताका आधारमा बजारको यात्रा तय हुने उनीहरु बताउँछन् ।



