images
images

चोभार १३२ केभीको सबस्टेसन निर्माणमा भइरहेको अवरोध हट्यो


  • 401
    SHARES
  • २०७९ कार्तिक २० गते आइतबार

    चोभार १३२ केभीको सबस्टेसन निर्माणमा भइरहेको अवरोध हट्यो

    काठमाडौं ।  कीर्तिपुर नगरपालिका वडा नं ६ चोभारमा १३२ केभीको सबस्टेसन निर्माणमा भइरहेको अवरोध हटेको छ ।नेपाल विद्युत प्राधिकरणले हिमाल सिमेन्टको स्वामित्वको चोभार, भूतखेलस्थित १२ रोपनी १२ आना जग्गामा १३२/११ केभीको सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढाएपछि स्थानीय बासिन्दाले अवरोध गर्दै आएका थिए । उक्त स्थानमा खेल मैदानको रुपमा प्रयोग हुँदै आएको भन्दै स्थानीयले सबस्टेसन निर्माणमा अवरोध गर्दै आएका थिए । मन्त्रिपरिषद्को १७ माघ २०७८को बैठकले हिमाल सिमेन्टको स्वामित्वमा रहेको जग्गा सबस्टेसन निर्माणका लागि प्राधिकरणलाई भाडामा उपलब्ध गराउने निर्णय गरेको थियो ।

    प्राधिकरणले सर्वे, माटो परीक्षण, डिजाइन जस्ता निर्माण पूर्वका प्रारम्भिक कार्यहरु सकिएको र सरकारले जग्गा उपभोग गर्न दिइसकेको अवस्थामा त्यस स्थानको विकल्पमा अन्य ठाउँमा सबस्टेसन सार्न नसकिने प्रष्ट पार्दै आएको थियो ।

    कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मी, उप–प्रमुख शुभलक्ष्मी शाक्य, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वडाध्यक्ष खीरमान सिंह बस्नेत, जलविनायक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दीपक महर्जन र स्थानीय बासिन्दाका प्रतिनिधि सम्मिलित संयुक्त बैठकले सबस्टेसन निर्माणलाई अगाडि बढाउने निर्णय गरेको छ ।

    प्राधिकरणले स्थानीयले उठाएको मागलाई सम्बोधन गर्ने र त्यसका लागि आवश्यक पर्ने बजेट व्यवस्था गर्ने सहमति भएको छ । कीर्तिपुर नगरपालिका, स्थानीय क्लब, संघसंस्था र भद्रभलादमीहरुसँगको छलफल र सहमतिमा मागलाई सम्बोधन गरिने छ ।  चोभारस्थित शुख्खा बन्दरगाहको प्रवेशद्धारबाट सुरु भएको करिब २ किलोमिटर ११ केभी लाइन तथा पोल सुरक्षित नदेखिएकोले स्थानीयको माग बमोजिम लाइनलाई भूमिगत गरी प्राधिकरणले व्यवस्थापन  गरिदिने सहमति भएको छ ।  

    प्राधिकरणले सबस्टेसन निर्माण तत्काल अगाडि बढाउने छ । विद्युत आपूर्तिको अत्यावश्यकतालाई ध्यान दिएर सबस्टेसन निर्माणमा अवरोध नगर्ने र यसका लागि सम्बन्धित वडाले आवश्यक सहयोग गर्ने बैठकबाट निर्णय भएको छ ।  बैठकमा नगर प्रमुख नकर्मीले विकास निर्माणका कामहरुमा नगरपालिकाको सँधै सहयोग गर्ने बताए । उनले भन्नुभयो,‘सबस्टेसन निर्माणमा जारी अवरोध हटाउनु ज्यादै अप्ठ्यारो र जटिलता थियो, यसलाई समाधान गर्न सफल भएका छौं, सबस्टेसन निर्माण तत्काल अगाडि बढाएर तोकिएकै समयमा सम्पन्न गर्नु पर्छ ।’

    प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सबस्टेसन निर्माणका लागि ठेक्कापट्टा लागिसकेकोले जाँडै निर्माण सुरु गर्ने बताए । ‘काठमाडौं उपत्यका विशेषता कीर्तिपुर तथा आसपासका क्षेत्रमा विद्युतको मागलाई सम्बोधन गर्न र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन चोभार सबस्टेसन ज्यादै महत्वपूर्ण छ’, उनले भने । ‘यस्ता सबस्टेसन बनाउन सकिएन भने केही वर्षमा विद्युत उपलब्ध भएर पनि प्रवाह गर्न नसकी काठमाडौं उपत्यकामा लोडसेडिङ गर्नु पर्ने अवस्था आउने छ ।’

    काठमाडौं उपत्यकाको विद्युत आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन निर्माणमा  ललितपुरको खोकना, बुंमती, हरिसिद्धी र लामाटार क्षेत्रका स्थानीय बासिन्दाले अवरोध गरिरहेका छन् ।स्थानीयको अवरोधका कारण प्रसारण लाइन बनाउन नसकिएपछि प्राधिकरणले विकल्पको रुपमा चोभारमा सबस्टेसन निर्माण अगाडि बढाएको हो । थानकोटबाट चोभारसम्मको काठमाडौं खण्ड र भक्तपुरतर्फको निर्माण भने सकिएको छ ।

    एसियाली विकास बैंकको काठमाडौं उपत्यका प्रसारण क्षमता सुदृढीकरण आयोजनामार्फत प्राप्त हुने सहुलियतपूर्ण ऋणमा चोभार सबस्टेसन निर्माण गर्न लागिएको हो । सबस्टेसनमा ४५ एमभिए क्षमताका दुई वटा पावर ट्रान्सफर्मरहरु रहने छन् ।

    काठमाडौं उपत्यकाको सन् २०३० सम्ममा ९ सय २५ मेगावाट, २०४० सम्ममा १ हजार ८ सय २५ मेगावाट र २०५० सम्ममा ३ हजार १ सय ६९ मेगावाट उच्चतम माग हुने प्रक्षेपणका आधारमा प्राधिकरणले प्रसारण तथा वितरण पूर्वाधार सञ्जालका संरचनाहरु योजनावद्ध रुपमा अगाडि बढाएको छ ।


    images
    images

    Logo