काठमाडौ । सञ्चार मन्त्री हुँदा विवादमा आएका नेकपा (एमाले) नेता गोकुल बाँस्कोटाले प्रतिनिधि सभा निर्वाचनमा काभ्रे २ बाट उम्मेदवारी दिएका छन् ।
उनका प्रतिस्पर्धी हुन् नेपाली कांग्रेसका शिब हुमागाइ । बाँस्कोटा र हुमागाईको प्रतिष्पर्धा सबैकालागि चासोको विषय भएको छ । २०७४ सालको आम निर्वाचनमा सोहि क्षेत्रबाट बिजयी भएका बाँस्कोटालाई यसपटक चुनाव जित्न त्यति सहज छैन ।
त्यतिबेला बाँस्तोलाले नेपाली कांग्रेसका उम्मेदवार मधु आचार्यलाई पराजित गरेका थिए । तर, यसपटक उनकालागि २०७४ को जस्तो सहज अवस्था भने छैन । २०७४ मा एमाले र माओवादी केन्द्रले सांठगाँठ गरेका थिए ।
अहिले माओवादीको साथ उनलाई छैन । एमालेबाट फुटेको नेकपा (एस) पनि अहिले बाँस्कोटालाई हराउने अभियानमा छ । प्रतिष्पर्धी दलहरू बाँस्कोटालाई ‘७० करोड’ काण्डसँग जोड्ने गर्छन भने एमालेका कार्यकर्ताहरू त्यसको प्रतिबाद गर्ने गर्छन । त्यसैले पनि यो क्षेत्र चर्चित बनेको हो ।
गत स्थानीय तहमा वडा अध्यक्षले ल्याएको मत परिणाम हेर्दा पनि बाँस्कोटालाई यसपटक चुनाव जित्न मुस्किल देखिन्छ । गत स्थानीय तहमा नेकपा (एमाले) ले ४५ हजार ५ सय १४, नेपाली कांग्रेस ४५ हजार ४ सय ५६, नेकपा (एस) ले ८ हजार ६ सय ७६, माओवादी केन्द्रले ६ हजार ३ सय ७० तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ३ सय ५४ भोट ल्याएको थियो । यस हिशावबाट गत स्थानीय तहमा नेपाली कांग्रेस र एमालेको भोट बराबरी छ । त्यसमा माओवादी केन्द्र र एसले ल्याएको भोट जोड्दा १५ हजार भोटको अन्तरले एमाले पछि छ ।
नेपाली काग्रेसका उम्मेदवार शिव हुमागाई काभ्रेका प्रतिनिधि सभा र प्रदेश सभाका सबै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी हुनेमा ढुक्क छन । ‘काभ्रेका जनताले ठूलो भोटको फरकले हामीलाई जिताउनेछन’ हुमागाइले भने, ‘कसलाई जिताउदा के भयो भन्ने कुरा काभ्रेका जनताले राम्रोसँग बुझिसकेका छन् ।’
तर, काभ्रे नेपाली कांग्रेसलाई यतिबेला गत स्थानीय तहमा गठबन्धन दलहरुले ल्याएको भोट जोगाउने चुनौती छ । नेपाली कांग्रेस काभ्रेका एक स्थानीय नेताले पार्टी एक भएमा नेपाली कांग्रेसले जित्ने दावी गरे । उनको आसय थियो, नेपाली कांग्रेसभित्र अन्तरघात हुने सम्भावना पनि कायम छ । २०७४ को निर्वाचनमा पराजय भएको एक पक्षले अझै पनि खुलेर कांग्रेसको पक्षमा सकृयता नदेखाएको उनको भनाइ छ । तर हुमागाइले भने काभ्रेमा नेपाली कांग्रेस एक भएको दाबी गरे ।
आफूले सबैको सहयोग पाएको उनले बताए । ‘हामी एक छौ । सबै प्रचारमा जुट्नु भएको छ’उनले भने । काभ्रे २ मा जनता समाजवादी पार्टीबाट सिद्धीबहादुर जोशी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट यशु आलेले उम्मेदवारी दिएका छन् । यसैगरी काभ्रे २ मा स्वतन्त्र उम्मेदवारी दिएका मनोज पण्डितको चर्चा पनि यस क्षेत्रमा बढेको छ ।
काभ्रे १ मा गठबन्धनबाट माओवादी केन्द्रका सूर्यमान तामाङ दोङ तथा नेकपा ९एमाले० बाट रेशम लामाले उम्मेदवारी दिएका छन् । यसैगरी जसपाबाट धनबहादुर तामाङ, राप्रपाबाट पूर्णबहादुर विश्वकर्मा, नेपाल मजदुर किसान पार्टीबाट सूर्यसिंग तामाङले उम्मेदवारी दिएका छन । तर, प्रतिष्पर्धा भने एमाले र माओवादीवीचमै हुने निश्चित छ ।
गत स्थानीय तहमा वडा अध्यक्षले ल्याएको भोटलाई हेर्दा काभ्रे १ मा पनि गठबन्धन अगाडि छ । गत स्थानीय तहमा काभ्रेपलाञ्चोक १ मा नेपाली कांग्रेसले ४० हजार १ सय ३६, एमालेले ३३ हजार ८ सय ४६, माओवादीले २४ हजार ३ सय ३१, एसले २ हजार ३ सय ५४ तथा राप्रपा ३ सय ९९ भोट ल्याएको थियो । गत स्थानीय तहको निर्वाचनमा काभ्रेका १३ वटा पालिकामध्ये धुलीखेल नगरपालिका मात्र एमालेका उम्मेदवार विजयी भएका थिए । अन्य १२ वटा पालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । काभ्रेमा ६ वटा नपा तथा ७ वटा गाउँपालिका रहेका छन् ।
‘यो पटक काभ्रेमा नेपाली कांग्रेस, माओवादी केन्द्र सहित गठबन्धनका उम्मेदवार विजय नजिक छन’ नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा काभ्रेको स्थानीय नेता सवर प्रजापतीले भने, ‘गठबन्धन दल एक जुट भए भने जिल्लाका सबै क्षेत्रमा गठबन्धन धेरै अगाडि छ ।’
यसैगरी प्रदेश सभाको निर्वाचनमा काभ्रे १ (क)मा एमालेबाट दिलबहादुर तामाङ, माओवादीबाट रत्न प्रसाद ढकाल, राप्रपाबाट नन्दलाल श्रेष्ठ, जसपाबाट मानबहादुर तामाङले उम्मेदवारी दिएका छन् । यसैगरी काभ्रे १ (ख)मा एमालेबाट चन्द्रबहादुर लामा, नेपाली कांग्रेसबाट तीर्थ लामा, राप्रपाबाट सहदेव भण्डारी तथा नेमकिपाबाट कृष्ण तामाङले उम्मेदवारी दिएका छन् । यसैगरी काभ्रे २ (क) बाट एमालेबाट कुमार खकुरेल, नेकपा (एस) बाट लक्ष्मण लम्साल, राप्रपाबाट रञ्जित श्रेष्ठ तथा नेमकिपाबाट सूर्यलाल तामाङले उम्मेदवारी दिएका छन् ।
यसैगरी काभ्रे २ (ख)बाट नेपाली कांग्रेसबाट कञ्चनबादे श्रेष्ठ, एमालेबाट युद्ध विक्रम तामाङ, तथा जसपाबाट वीरबहादुर तामाङले उम्मेदवारी दिएका छन् ।



