काठमाडौँ । साउदी अरबमा एक नेपालीलाई मृत्युु दण्ड दिइएको छ । मृत्युदण्डको सजाय पाएर १५ वर्षदेखि जेलमा रहेका उदयपुरका विवेकलाई मृत्युदण्डको सजाय दिइएको हो ।मृत्युदण्डपछि उनको शव परिवारलाई नदिई जमिनमा गाडिएको छ ।रियादस्थित नेपाली दूतावासका अनुसार, जुवेल जेल प्रशासनले कार्तिक ६ गते दाहाललाई मृत्युदण्ड दिइएको हो ।
साउदीका लागि नेपाली राजदूत नवराज सुवेदीले दूतावासलाई जानकारी नदिई मृत्युदण्डको सजाय कार्यान्वयनमा आएको बताए । जेल प्रशासनले ४८ घण्टापछि मात्रै सूचना दिएको सुवेदीले बताए ।
विवेकलाई २ फेब्रुअरी २००७ मा आफन्त राजेन्द्र विष्टको हत्या गरेको स्थानीय अदालतले ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो । तल्लो अदालतको आदेशलाई, क्रिमिनल कोर्ट र सर्वोच्च अदालतबाट पनि सदर गरेको थियो ।
२००६ मा साउदी अरब पुगेका दाहाल, विष्ट र सुडानी नागरिक साउदी मरुभूमिमा ऊँटको हेरचाह गर्ने काम गर्थे । दाहालले सुतिरहेको बेला विष्ट र सुडानी नागरिक हत्या प्रयास गरेका थिए । विष्टको तत्काल मृत्यु भएको थियो भने सुडानी नागरिकको आँखामा क्षति पुगेको थियो ।
पीडित राजेन्द्र विष्टको परिवारलाई दाहालको परिवारले ब्लडमनीबापत रकम दिएको भन्दै सन् २०११ मा नेपाली दूतावासले जुवेलको अदालतमा आममाफी दिन निवेदन दिएको थियो । तर, उपचारपछि स्वदेश फिरेका सुडानी नागरिक माफी नदिई सर्म्पकविहीन भएपछि दहाललाई मृत्यु दण्ड दिइएको हो । त्योसँगै उनीमाथि पशु करणीको पनि मुद्दा समेत भएकाले अदालतले माफी दिन इन्कार गरेको थियो । नेपालले उच्च तहमा पटकपटक पहल गरेपनि सुनुवाइ भएन ।
दाहाललाई माफी दिएर स्वदेश पठाउनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले साउदी राजालाई पत्र समेत पठाएकी थिइन् । त्यसबाहेक साउदीका सबै तहमा पनि दूतावासले पहल गर्दै आइरहेको थियो । गत मार्चमा नेपाल भ्रमणमा आएका साउदीको परराष्ट्र मन्त्रीसमक्ष पनि दाहाललाई माफी दिन सरकारले औपचारिक आग्रह गरेको थियो ।



