काठमाडौं । जिल्ला अदालत काठमाडौँले राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा बयान लिएको छ । मंगलबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बयान सकिए पनि थुनछेक बहस हुन नपाएपछि बुधबारका लागि उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो ।
सोमबार दायर भएको रिटमा मंगलबार बयान र थुनछेक हुने भनिए पनि बयान सकिन दिनभर लागेपछि बुधबार मात्रै थुनछेक बहस हुने भएको हो । कार्यालय समय सकिएपनि सन्दीपको बयान साँझ ६ बजेसम्म नै गराएर मंगलबार बयान सकाइएको छ । बुधबार थुनछेक बहस हुने जनाएको छ । लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ गते उक्त मुद्दा दायर गरिएको थियो ।
सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरिएको छ । सरकारी वकिललाई प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा सोही माग राखिएको थियो ।
प्रहरी हिरासतमा रहेका लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका छन् ।
लामिछानेविरुद्ध नाबालिकमाथि जबरजस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनलाई न्यायिक हिरासतमा राखिएको छ । प्रहरीले गत असोज २० गते उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ गरेको थियो ।उनको मुद्दामा थुनछेक बहस भोलि बुधबारदेखि सुरु हुनेछ ।



