काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाका लागि आगामी मङ्सिर ४ गते घोषित निर्वाचन नजिकिएसँगै आन्तरिक जोड घटाउको गृहकार्यमा जुटेको नेकपा (एमाले)ले भक्तपुर क्षेत्र नं २ लाई आफूले जित्ने क्षेत्रका रुपमा लिएको छ ।
एमालेको आन्तरिक मूल्याङ्कनमा आँकलन गरिएको उक्त क्षेत्रमा २०७४ सालको निर्वाचनमा प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई झण्डै दोब्बर मतले पराजित गरेका एमालेका नेता महेश बस्नेतको यो क्षेत्र पार्टी अध्यक्ष केपी शर्मा ओलीका गृह क्षेत्र पनि हो । एमालेले गुमाउन नचाहेको यो क्षेत्रमा स्थानीय तहको निर्वाचन परिणामले भने राजनीतिक अङ्कगणितलाई परिवर्तन गरिदिएकाले उक्त दल झस्किएको छ ।
जिल्लाकोे दुई संसदीय निर्वाचन क्षेत्रमध्ये १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को बलियो पक्कड र वर्चश्व रहँदै आएको छ । प्रजातन्त्र पुनःस्थापनापछि सम्पन्न पहिलो आम निर्वाचन २०४८ सालदेखि नै यहाँबाट नेमकिपाले अत्याधिक बहुमतका साथ जीत हासिल गर्दै आएको छ । २०४८ देखि २०७० सालसम्म अध्यक्ष नारायणमान बिजुक्छेंले जित्दै आएको यो क्षेत्रमा उनले २०७४ सालमा आफ्नो उत्तराधिकारीका रुपमा पार्टी सचिव प्रेम सुवाललाई अघि सारे ।
उक्त निर्वाचनमा सुवालले ३३ हजार ७६ मत ल्याएर विजयी भएका थिए भने निकटतम प्रतिद्वन्न्द्वी नेपाली कांग्रेसका बाबुराजा जोशीले १७ हजार ८ सय १८ मत ल्याएर पराजित भएका थिए । यसैगरी एमाले–माओवादी गठबन्धनबाट माओवादीका मिलन सुवालले १५ हजार ३ सय ७४ मत ल्याएर तेस्रो बरियतामा परेका थिए ।
क्षेत्र नं २ मा भने नेपाली कांग्रेस र नेमकिपाले आलोपालो जित्दै आएकामा २०७४ मा एमालेका महेश बस्नेत विजयी भएका उक्त क्षेत्रमा २०४८ सालमा कांग्रेसका जगन्नाथ आचार्य, २०५१ मा नेमकिपाका आशाकाजी वासुकला, २०५६ मा कांग्रेसका लेखनाथ न्यौपाने, २०६४ मा नेमकिपाका सुनिल प्रजापति, २०७० मा कांग्रेसका रामेश्वर ढुङ्गेल र २०७४ सालमा एमालेका महेश बस्नेतले जितेका थिए ।
राज्य पुनःसंरचना गरी सङ्घीयतामा गएपछि भक्तपुरका दुई निर्वाचन क्षेत्रको भूगोल पनि फेरिएको छ । यसअघि भक्तपुर क्षेत्र नं १ मा रहेको मध्यपुरथिमिको केही वडा नं २ मा पारिएको छ भने क्षेत्र नं २ मा रहेको भक्तपुर नगरपालिकाका केही वडा क्षेत्र नं १ मा पारिएको छ । यसैका कारण क्षेत्र नं १ मा नेमकिपा थप बलियो भएको छ भने क्षेत्र नं २ मा कमजोर बनेको छ । क्षेत्र नं २ मा कांग्रेसकाे संगठन राम्रो भएपनि जिल्ला बाहिरबाट उमेदवार ल्याएका कारण २०७४ मा एमालेले विजयको झण्डा फहराउन सफल भएको थियो ।
एमालेका बस्नेतले ३६ हजार ४ सय १२ मत ल्याएर विजयी हुँदा कांग्रेसका दमननाथ ढुङ्गानाले १८ हजार ६ सय ८७ मत ल्याएका थिए । त्यतिबेला बस्नेतलाई माओवादीसहितको वाम गठबन्धनले सघाएको थियो । त्यतिबेला नेमकिपाका अनुराधा थापामगरले ५ हजार ४ सय ७१ मत ल्याएर तेस्रो भएकी थिइन ।
बस्नेतले अत्यधिक मतका साथ विजय हासिल गर्नुमा वाम गठबन्धनको फाइदा त थियो नै २०७४ को स्थानीय तहको निर्वाचनको परिणाम र कांग्रेसका उम्मेदवार ‘टुरिस्ट’ हुनु पनि प्रमुख कारण थियो ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा आफ्नो बलियो गढका रुपमा रहेको मध्यपुरथिमि नगरपालिकामा कांग्रेसले नगरप्रमुख गुमाएकाे थियो ।
कांग्रेसले यस क्षेत्रमा सांसद मात्र गुमाएन । सङ्घीय संसद् र प्रदेशसभा सदस्यका लागि सम्पन्न उक्त निर्वाचनमा एक सिट पनि जित्न सकेन । जिल्लामा पहिलो दलका रुपमा रहेको कांग्रेस तेस्रोमा खुम्चिन पुगेको थियो ।
अहिले परिस्थिति फेरिएको छ । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा कांग्रेस पहिलो शक्तिका रुपमा उदय भएको छ । चार स्थानीय तह भएको भक्तपुरमा कांग्रेसले दुई पालिका मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकाको प्रमुखमा जितेको छ । सूर्यविनायक नगरपालिकामा कांग्रेस पहिलेको तुलनामा थप मजबुत देखिएकाले एमालेको आन्तरिक मूल्याङ्कनमा भक्तपुर–२ लाई सहज जीत हुने क्षेत्रका रुपमा नभई जित्नसक्ने सम्भावित क्षेत्रका रुपमा लिइएको हो ।
भक्तपुरमा कांग्रेस आफैँमा बलियो मात्र भएको छैन, यसपटक उसलाई सत्ता गठबन्धनको फाइदा पनि देखिएको छ । पहिलेको तुलनामा सङ्गठन मजबुत भएको कांग्रेस क्षेत्र नं २मा सत्ता गठबन्धनको समेत फाइदा उठाउँदै आफ्नो गुमेको सिट फिर्ता ल्याउने रणनीतिमा रहेको छ भने अर्कोतर्फ एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका बस्नेत पुनःनिर्वाचित हुने दाउमा रहेका छन् ।
स्थानीय तहको मत परिणामअनुसार यस क्षेत्रमा कांग्रेस पहिलो दल बनेको छ । दुबै नगरपालिकाका १९ वटा वडामध्ये कांग्रेसले ११ वटा वडासहित एक प्रमुख जितेको छ भने नेकपा एमालेले सात वडाअध्यक्षसहित एक प्रमुख र एक उपप्रमुखमा जीत हासिल गरेको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रले एक उपप्रमुख जितेको छ । एउटा वडामा भने नेमकिपाका उम्मेदवार विजयी भएका छन् । गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतपरिणामअनुसार उक्त क्षेत्रमा कांग्रेसको मत झण्डै २६ हजार रहेको छ भने एमालेको २४ हजार ५ सय मत रहेको छ ।
त्यस्तै नेपाल मजदूर किसान पार्टीले ५ हजार, राप्रपाले ४ हजार, नेकपा एसले १ हजार र माओवादी केन्द्रको १ हजार हाराहारी मत रहेको छ । यसरी हेर्दा सत्ता गठबन्धनको मत २८ हजार हाराहारी छ । स्थानीय निर्वाचनपछि भक्तपुरमा राप्रपाको अङ्कगणित पनि फेरिएको छ । कमल थापाले राप्रपा नेपाल पुनःगठन गरे पनि स्थानीय निर्वाचनअघि भक्तपुरमा सङ्गठन विस्तार गर्न सकेको थिएन । अहिले राप्रपा नेपालको पनि सङ्गठन विस्तार भएकाले उसले पाएको करिब ४ हजार मतको अङ्कगणित पनि हेरफेर हुनसक्ने देखिन्छ ।



