नेकपा माओवादी केन्द्रले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेकपा माओवादी केन्द्रले कात्तिक १४ गते सोमबार घोषणा पत्र सार्वजनिक गरेको हो ।
माओवादी केन्द्रले विगतको अनुभव र जनचाहनाका आधारमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई प्रभावकारी बनाउन संविधान संशोधन गरिने जनाएको छ । जसमा सङ्घमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रीमण्डल रहने व्यवस्था गरिने उल्लेख छ । संसदलाई मूलतः विधायन क्षेत्रमामात्रै केन्द्रित गर्ने व्यवस्था गर्ने तथा प्रदेशमा पनि सङ्घमा जस्तै प्रत्यक्ष निर्वाचित प्रदेश प्रमुख र प्रदेश प्रमुखद्वारा गठित मन्त्रीमण्डल रहने र विधायन क्षेत्रमा मात्र केन्द्रित हुने प्रदेश सभाको गठन गरिने जनाएको छ ।
माओवादीले आफ्नो मुल रणनीतिमा १० बुँदा समेटेको छ । जसमा न्यायपालिका र प्रशासन संयन्त्रको जनमुखी पुनर्संरचना गर्ने, युवा शक्तिलाई देश निर्माणमा परिचालन गर्ने, विदेशमा रहेकालाई स्वदेश फर्कने वातावरण बनाउने, कृषि क्षेत्रको रूपान्तरण गर्ने र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगको विकास गर्ने, हरेक क्षेत्रमा सामूहिक उत्पादन प्रणालीको विकास गरी कार्यान्वयन गर्ने जनाएको छ ।
त्यस्तै, निजी क्षेत्रको लगानी र राष्ट्रिय पुँजीको विकासलाई प्रोत्साहन गर्ने, मजदुर, किसान, श्रमजीवी र विपन्न वर्गलाई समृद्धिको केन्द्रमा राख्ने, विकासलाई प्रकृतिमैत्री बनाउने माओवादीले जनाएको छ । त्यसैगरि दुई अंकको आर्थिक वृद्धि हासिल हुने आधार निर्माण गर्ने र पार्टीका नेता तथा कार्यकर्तालाई उत्पादन एकाइहरूको नेतृत्व गर्न परिचालन गर्ने माओवादीले जनाएको छ ।



