images
images

तीन महिनामा ३ अर्ब रुपैयाँभन्दा धेरैको फलफूल आयात


  • 398
    SHARES
  • २०७९ कार्तिक १४ गते सोमबार

    तीन महिनामा ३ अर्ब रुपैयाँभन्दा धेरैको फलफूल आयात

    काठमाडौं । नेपालको उत्तरी हिमाली क्षेत्रका विभिन्न स्थानमा स्याउ फल्छन् । हावापानी पनि रसिलो स्याउ फल्ने खालकै छ । मनाङ, मुस्ताङ, जुम्ला, मुगुलगायतका जिल्लाका किसानले उत्पादन गरेको स्याउले बजार पाउन सकेको छैन । 

    बजार पुगेको भए पनि सस्तोमा बिक्री गर्न बाध्य छन् उत्पादक । देशभित्रै फलाउन सकिने र राम्रो बजार पाउने रसिलो, स्वादिलो स्याउ फलाउने जनशक्ति रोजगारीको खोजीमा विदेशिएको छ । 

    सरकारी निकायले पनि यसमा विशेष ध्यान दिन नसक्दा स्याउमा मुलुक आत्मनिर्भर बन्न सकेको छैन । देशभित्रै अर्बौं मूल्य बराबरको स्याउ फलाउने र विदेशसमेत बिक्री गर्न सकिने अपार सम्भावना रहेको भए पनि तारतम्य भने मिल्न सकेको छैन ।  

    भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार नेपालीले स्याउ आयातका लागि मात्रै २ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेका छन् ।  विभागका अनुसार चालू आर्थिक बर्षको असोज मसान्तसम्म २ अर्ब २४ करोड ९६ लाख ३९ हजार रुपैयाँ मूल्य बराबरको ३ करोड ४ लाख ४७ हजार केजी स्याउ आयात भएको छ । त्यसबाट सरकारले २८ करोड ५ लाख ८५ हजार रुपैयाँ बराबरको राजस्वसमेत सङ्कलन गरेको छ । 

    उत्तरी नाका बन्द हुँदा त्यस अवधिमा भारतबाट सबैभन्दा धेरै स्याउ भित्रिएको विवरणमा उल्लेख छ । भारतबाट मात्र १ अर्ब ४९ करोड २४ लाख ४९ हजार रुपैयाँ मूल्य बराबरको स्याउ आयात भएको छ । त्यस्तै चीनबाट ७५ करोड ७१ लाख ८९ हजार रुपैयाँ मूल्यमा ७८ लाख ६८ हजार ७ सय ९८ केजी स्याउ आयात भएको छ । 

    विभागको विवरणानुसार नेपालमै उत्पादन गर्न सकिने कृषिउपज, फलफूलसमेत अत्यधिक आयात भइरहेका छन् । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा देशमा ३ अर्ब रुपैयाँभन्दा बढी रकमका ताजा तथा सुकेका फलफूल आयात भएको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । 
     
    यस्तै चालू आर्थिक बर्षको असोज मसान्तसम्म २९ करोड ७६ लाख ५६ हजारका २८ लाख ७१ हजार १ सय ७६ केजी ताजा अनार आयात भएको देखिन्छ । त्यसबाट सरकारले ३ करोड ७२ लाख ६९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । 

    केरा आयातमा १६ करोड बाहिरियो

    नेपालीले तीन महिनाको अवधिमा १६ करोड २३ लाख ५९ हजार रुपैयाँ बराबरको केरा आयात गरेको छ । चालू आर्थिक बर्षको असोज मसान्तसम्म भारतबाट मात्रै कूल १ करोड १३ लाख ७ हजार ४ सय ४६ केजी केरा आयात भएको देखिन्छ । त्यसबाट सरकारले ७ करोड २ लाख २३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । 

    विवरणानुसार सुन्तलाको आयात पनि उस्तै छ । तीन महिनाको अवधिमा मात्रै १४ करोड ८७ लाख ९२ हजार रुपैयाँ बराबरको २२ लाख १९ हजार ४ सय ५७ केजी सुन्तला आयात भएको छ । त्यस्तै असोज मसान्तसम्म ११ करोड ८ लाख १४ हजार रुपैयाँ मूल्य बराबरको खरबुुजा, १० करोड ८० लाख १५ हजार रुपैयाँ बराबरको मेवा आयात भएको तथ्याङ्कमा छ । 

    पछिल्लो तीन महिनामा २ करोड ९१ लाख ७१ हजार रुपैयाँको किबी, १ करोड ४९ लाख ८ हजार रुपैयाँ मूल्य बराबरको एभोगाडो आयात भएको देखिन्छ । यस अवधिमा अम्बा, आँपलगायतको आयातमा १८ करोड ७४ लाख रुपैयाँ बाहिर गएको छ । त्यस्तै नास्पाती भुइँकटहरलगायत फलफूल आयातमा करोडौँ रकम बाहिरिएको विवरणमा उल्लेख छ । 


    images
    images

    Logo