काठमाडौं । दार्चुला घटनाको बारेमा भारतलाई सरकारले कूटनीतिक नोट पठाएको छ । सडक निर्माणका क्रममा भारतीय पक्ष गराएको विस्फोटमा उढुंगा लागेर दार्चुलामा नेपाली बालकको मृत्यु भएपछि नेपालले भारतलाई कूटनीतिक नोट पठाएको हो ।
दार्चुलाको व्यास गाउँपालिकाका ९ वर्षीय बालक पवन महराको शनिबार मृत्यु भएको थियो । सो विषयमा आइतबार परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत् कूटनीतिक नोट पठाएको हो ।
कुटनीतिक नोट पठाउनुअघि गृहमन्त्रालयले घटनाको विस्तृत विवरण मन्त्रालयलाई पठाएको थियो । सो आधारमा परराष्ट्रले भारतलाई नोट पठाएको हो । नोटमा सीमावर्ती क्षेत्रमा यस्ता निर्माण कार्यहरू गर्दा स्थानीय प्रशासन र जनसमुदायलाई पूर्व सूचना दिन र सहकार्य गर्न भनिएको छ ।
त्यस्तै निर्माण कार्य भइरहँदा जोखिम न्यूनिकरणका लागि सुरक्षाका उपायहरू अपनाएर मात्रै यस्ता प्रकारका कामहरू गर्न भनिएको छ । साथै अहिले भएको घटनामा पीडित महराको परिवारलाई राहत र उचित क्षतिपूर्ति उपलब्ध गराउनसमेत नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ ।



