काठमाडौं । असोज महिनामा मात्रै १ खर्ब २७ अर्बको आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको असोज महिनाको तथ्यांक अनुसार भदौ महिना २ खर्ब ७३ अर्ब आयात भएकोमा असोज महिनासम्म आइपुग्दा १ खर्ब २७ अर्बले बढेर ४ खर्ब पुगेको हो ।
यो अवधिको आयात अघिल्लो वर्षको तुलानामा १६ प्रतिशत कम हो । अघिल्लो बर्ष असोजसम्म ४ खर्ब ७८ अर्ब रुपैयाँ बराबरको आयात भएको थियो ।
असोज महिनासम्मको अवधिमा निर्यात व्यापार ३५ प्रतिशतले घटेको छ । यो अवधिमा कुल ४१ अर्ब ८२ करोड रुपैयाँ बराबरको मालबस्तु निर्यात भएको विभागले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यात ६५ अर्ब रुपैयाँ भएको थियो । चालू आर्थिक वर्षको तीन महिनामा मुलुकको कूल व्यापार घाटा साढे ३ खर्बमाथि पुगेको छ ।
भन्सार विभागले आज सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरणअनुसार व्यापार घाटा ३ खर्ब ५९ अर्ब १७ करोड ८१ लाख रुपैयाँ बराबर छ । आर्थिक वर्ष २०७८/७८ को तुलनामा चालू आर्थिक बर्षको तीन महिनामा कूल व्यापार १८ दशमलव ५४ प्रतिशतले घटेको छ ।
गत आर्थिक बर्षमा कूल ५ खर्ब ४३ अर्ब ५७ करोड रुपैयाँ बराबरको व्यापार भएकामा यस आवको तीन महिनामा मात्रै ४ खर्ब ४२ अर्ब ८१ करोड रुपैयाँ बराबरको मात्रै व्यापार भएको छ । यस आधारमा गत आर्थिक बर्षको तीन महिनाको तुलनामा चालू आर्थिक बर्षको तीन महिनामा १८ दशमलव ५४ प्रतिशतले ओरालो लागेको हो ।



