भक्तपुर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेस भक्तपुरका नेता–कार्यकर्तासँग भेटघाट गरेका छन् । कांग्रेसका क्षेत्र नम्बर २ प्रदेशसभा ख ले आज नयाँ थिमिस्थित शंखधर पार्टी प्यालेसमा आयोजना गरेको भेटघाट कार्यक्रममा संक्षिप्त मन्तब्य राख्दै सभापति देउवाले ५ दलीय गठबन्धनका कारण निर्वाचनमा सबैले टिकट पाउन कठिन भएको बताए ।

उनले यस सन्दर्भमा मध्यपुर थिमिलाई अन्याय भएको यहाँको नेता तथा कार्यकर्ताको गुनासो रहेको भन्दै गठबन्धनका अन्य दललाई दिनुपर्ने बाध्यात्मक अबस्था रहेको बताए । निर्वाचनपछि प्राप्त अवसरमा अवश्य पनि मध्यपुर कांग्रेसका उक्त गुनासोलाई सम्बोधन गर्ने आश्वासन दिए ।
धेरै आकांक्षीकाबीच सीमित नेतालाई उम्मेदवार बनाउनुपर्ने समस्या सबै पार्टीमा रहेको बताए । उनले सबै मिलेर अहिले गठबन्धन टिकाउन र प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्नुपर्ने बताए । उनले जिल्लामा गठबन्धनका सबै उम्मेदवारलाई जिताउन आग्रह गर्दै प्रतिनिधिसभा क्षेत्र नं.२ का उम्मेदवार दुर्लभ थापा जीतपछि मन्त्री बन्ने संभावना रहेको बताए ।



