images
images

मधेसका ५ सिटमा जसपा र लोसपाबीच कडा टक्कर


  • 313
    SHARES
  • २०७९ कार्तिक ९ गते बुधबार

    मधेसका ५ सिटमा जसपा र लोसपाबीच कडा टक्कर

    काठमाडौं । मधेसका ५ सिटमा तराई मधेस केन्द्रीत दुई दल जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच कडा टक्कर हुने देखिएको छ । उनीहरुबीच यतिसम्म प्रतिस्पर्धा छ की पार्टी अध्यक्षले उम्मेदवारी दिएको क्षेत्रमा समेत एक अर्कोवीच कडा टक्कर छ । २०७८ भदौ ९ गते महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताले जसपाबाट विभाजन भई लोसपा गठन गरेका थिए । 

    जसपा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिएको सप्तरी क्षेत्र नं. २ मा लोसपाले यादवका पुराना प्रतिष्पर्धी नेता जय प्रकाश ठाकुरलाई उम्मेद्वार बनाएको छ ।  २०७४को प्रतिनिधि सभा निर्वाचनमा पनि यादव विरुद्ध ठाकुरले उम्मेदवारी दिएका थिए । त्यसबेला ठाकुरले पार्टीबाट नभइ स्वतन्त्र उम्मेदवारी दिएका थिए । 

    यसपटक लोसपाले यादवलाई अप्ठयारो पार्ने गरी ठाकुरलाई नै उम्मेदवारी दिन लगाएको हो । ठाकुरलाई सत्तारुढ ४ दलको समर्थन रहेको छ भने यादवलाई नेकपा (एमाले) ले समर्थन गरेको छ ।  त्यसैले सप्तरी २ मा कडा प्रतिष्र्धा हुने अनुमान धेरैले गरेका छन् ।

     त्यति मात्र होइन, सप्तरी २ मा जसपा अध्यक्ष यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतसंग  पनि प्रतिष्र्धा गर्नु पर्नेछ । गत स्थानीय तहमा सप्तरीका २ वटा स्थानीय तहमा जनमत पार्टी विजयी भएको थियो । त्यसैले सप्तरी २ मा राउतको पनि राम्रो प्रभाव रहेको बताइन्छ ।   

    यसैगरी लोसपाका अध्यक्ष महन्थ ठाकुर उम्मेदवार बनेको महोत्तरी ३ मा जसपाले ‘हेवी वेट’ नेतालाई उम्मेदवार बनाएको छ ।  महोत्तरी ३ मा जसपाले पूर्व कृषि मन्त्री तथा पूर्व सांसद हरिनारायण यादबलाई उम्मेदवारी दिन लगाएको छ । त्यस क्षेत्रमा पनि लोसपालाई सत्तारुढ ४ दल र जसपालाई एमालेको समर्थन छ । २०७४ को निर्वाचनमा ठाकुर महोत्तरी ३ बाटै निर्वाचित भएका थिए । 

    यस्तै रोचक प्रतिष्र्धा पर्सा १ मा पनि हुंदै छ । पर्सा १ मा जसपाबाट वर्तमान सरकारका वनमन्त्री प्रदीप यादवले उम्मेदवारी दिएका छन् । त्यस क्षेत्रमा लोसपाले शिर्ष नेता लक्ष्मणलाल कर्णलाई उम्मेदवार बनाएको छ । २०७४ को निर्वाचनमा कर्ण पर्सा ४ बाट निर्वाचित भएका थिए भने यादव पर्सा १ बाट निर्वाचित भएका थिए । 

    यसपटक यादव पर्सा १ मा  दोहरिन चाहेका छन् । तर, उनका लागि कर्ण ठूलो चूनौती हुने स्थानीयको भनाई छ । कर्णलाई यसपटक नेपाली कांग्रेस र माओवादीले समेत साथ दिएका कारण पनि त्यो क्षेत्रको प्रतिस्पर्धा कडा र रोचक हुने अनुमान धेरैको छ । वीरगञ्ज महानगरपालिका समेत रहेको पर्सा १ मा नेपाली कांग्रेस, जसपा, लोसपा, नेकपा (एमाले) र माओवादीको उत्तीकै प्रभाव रहेको छ । 

    त्यस्तै सर्लाही १ मा जसपाले प्रमोद साहलाई उम्मेदवार बनाएको छ । साह विरुद्ध लोसपाले रामप्रसाद चौधरीलाई उठाएको छ । साह यसअघि महन्थ ठाकुर–राजेन्द्र महतोसंग निकट मानिन्थे । तर, जसपा विभाजित हुने बेला भने उनले उपेन्द्र यादवलाई रोजेका थिए । 

    उता बारा ३ मा जसपाले रामबाबु यादवलाई उठाएको छ । लोसपाले सो क्षेत्रमा लालबाबु सिंहलाई उमेद्वार बनाएको छ । दुवै उम्मेदवारलाई छुट्टाछुट्टै गठबन्धनले साथ दिएका कारण यी २ नेतावीचको प्रतिष्र्धा रोचक हुने निश्चित छ । 

    त्यसैगरी मधेश प्रदेशको सर्लाही २ ले पनि यसपटक धेरैको ध्यान तानेको छ । सो  क्षेत्रबाट लोसपाका शिर्ष नेता राजेन्द्र महतोले उम्मेदवारी दिएका छन् । उनी विरुद्ध गठबन्धनबाटै महेन्द्र यादवले उम्मेदवारी दिएका छन् । सर्लाही २ मा राजेन्द्र र महेन्द्रले मित्रवत प्रतिष्र्धा गर्ने सहमति गठबन्धनवीच भएको लोसपाका कार्यकारिणी समितिका सदस्य केशव झाले बताए । 

    २०७० को निर्वाचनमा पनि सर्लाही २ मा महेन्द्र र राजेन्द्रवीच प्रतिष्र्धा भएको थियो । त्यसबेला महेन्द्र विजयी भएका थिए । उता महोत्तरी २ मा लोसपाका अर्का शिर्ष नेता शरत्सिंह भण्डारीले उम्मेदवारी दिएका छन् । 

    त्यस क्षेत्रमा एमालेले राम परिक्षण यादवलाई उम्मेदवार बनाएको छ । लोसपाका अर्का शिर्ष नेता अनिल झाले उम्मेदवारी दिएको धनुषा ३ मा पनि लोसपा र एमालेवीच रोचक प्रतिष्र्धा हुने देखिन्छ । धनुषा ३ मा एमालले जुली महासेठलाई उम्मेदवार बनाएको छ ।  


    images
    images

    Logo