काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम (एनटीसी)ले आफ्ना ग्राहकका लागि सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा सञ्चालनमा ल्याउने भएको छ ।
कात्तिक ८ गते आज (मंगलबार)देखि सुरु हुने सेवाअन्तर्गत एनटीसी प्रयोगकर्ताले १० हजारसम्म मोबाइल नम्बरमा सन्देश (एसएमएस) पठाउन सक्नेछन् । यो सेवा कात्तिक २१ गतेसम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
यो अफरअन्तर्गत २ हजार, ५ हजार र १० हजार वटा मोबाइल नम्बरमा एकैपटक सन्देश पठाउन सकिने सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा उपलब्ध हुनेछ । प्रतिसन्देश ५० पैसामा पठाउन सकिने यस प्याकमा २ हजार एसएमएस २ दिनभित्र पठाउन जम्मा १००० रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।
२ हजार ५०० रुपैयाँमा ५ दिन भित्रमा ५ हजार एसएमएस पठाउन सकिने छ । यस्तै, ५ हजार रुपैयाँमा १० दिन भित्रमा १० हजार एसएमएस पठाउन सकिने कम्पनीले जनाएको छ । नेपाल टेलिकमको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुरमा कुनै पनि कर समावेश छैन ।
यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्नेछ र प्रेषित सन्देशको शब्द तथा भाव लगायतका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मेवार हुनुपर्ने कम्पनीले जनाएको छ ।



