काठमाडौ । नेपालीको दोस्रो ठूलो चाड तिहार शुरू भएको छ । कार्तिक कृष्ण त्रयोदशीको साँझ यमदीपदान गरेसंगै तिहार अर्थात् यमपञ्चक शुरू भएको हो ।
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मलाई यमपञ्चक अर्थात तिहार भनिन्छ । यो समयमा परिवार सङ्ख्याका आधारमा प्रत्येकको छुट्टाछुट्टै यमदीपदान दिनुपर्ने धर्मशास्त्रमा उल्लेख छ ।यमदीपदान सुरु भएसँगै घर, अफिस, व्यापारिक प्रतिष्ठान लगायत स्थानमा दीपावली गरिएको छ ।
तिहारलाई दीपको पर्व पनि भनिन्छ ।यमदीपदान गरी सुरु भएको तिहारको दोस्रो दिन आइतबार कागको पूजा गरी मीठा, मीठा कुरा खाना खान दिइन्छ । सोमबार बिहान जलाशय, नदी, कुवामा गई स्नानसहित बत्ती बालेर बगाइन्छ । यसलाई नरक चतुर्दशी पनि भनिन्छ ।
यसै दिन बेलुकी लक्ष्मी पूजा गरिन्छ । चौंथो दिन मंगलबार गाईको पूजा गरिन्छ । चौथो दिन बुधबार गोवद्र्धनपूजा, बलीपूजा, हलितिहार, गोरुको समेत पूजा गरेर मनाइन्छ । पाँचौँ दिन बिहीबार दिदी बहिनीले दाजुभाइलाई टीका लगाएपछि पाँच दिन लामो तिहार पर्व समापन हुन्छ ।
यसैगरी शनिबार धनका रक्षक देवता कुबेर जयन्तीका अवसरमा कुबेरको विशेष पूजा आराधना गरिएको छ । यो दिनलाई धनतेरस पनि भन्ने गरिन्छ । आजको दिन ल्याइएको भाँडाकुँडामा कार्तिक कृष्ण औँसीका दिन लक्ष्मी पूजा गरिन्छ ।
यसरी पूजा आराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने विश्वास छ । धनतेरसका दिन सुन चाँदीको गहना किनेर ल्याउने प्रचलनसमेत छ । सोहि धार्मिक विश्वासकै कारण धनतेरसमा भाँडाकुँडा एवं गरगहना किन्नेको भीड लाग्ने गर्छ ।



