काठमाडौं । प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय भौतिकरुपमा रुपैयाँ पैसा नै नबोकिकनै कारोबार गर्न सकिने भएको छ ।
पछिल्ला दिनमा विद्युतीय भुक्तानीको कारोबारमा उल्लेख्य वृद्धि हुनुले पनि सो कुराको पुष्टि गरेको हो । कोभिड महामारी अगाडि सामान्यरुपमा मात्रै अगाडि बढेको विद्युतीय भुक्तानी एवं कारोबार भने अपेक्षितरुपमा अगाडि बढेको छ । राष्ट्र बैंकले विद्युतीय भुक्तानीका लागि प्रोत्साहन गरेसँगै यसको प्रयोगमा वृद्धि भएको हो ।
प्राविधिक पूर्वाधारको विकास, कारोबारमा प्रोत्साहन तथा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानीको कारोबारमा वृद्धि भइरहेको देखिन्छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणानुसार चालु आर्थिक बर्षको दोस्रो महिनामा मात्रै विद्युतीय माध्यम प्रयोग गरी ४९ खर्ब रुपैयाँ बढीको कारोबार भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा उल्लेख भएअनुसार भदौ महिनामा मात्रै २ खर्ब ९२ अर्ब ५४ करोड ५० लाख रुपैयाँ भन्दा बढी रकम कनेक्ट आइपिएसमार्फत कारोबार भएको छ । कनेक्ट आइपिएसको माध्यमबाट अघिल्लो आर्थिक बर्षको भदौ महिनामा २ खर्ब ३२ अर्ब ५४ करोड ३० लाख रुपैयाँको कारोबार भएको थियो ।
त्यस्तै चालु आर्थिक बर्षको भदौ महिनामा मोबाइल बैंकिङ प्रयोग गरी रु एक खर्ब ४६ अर्ब १४ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको देखिन्छ । सो माध्यमको प्रयोग गरी अघिल्लो आर्थिक बर्षको भदौमा ७४ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
केन्द्रीय बैंकको तथ्याङ्कअनुसार गत भदौ महिनामा विभिन्न वालेट प्रयोग गरी १७ अर्ब ६३ करोड ५० लाख रुपैयाँको कारोबार भएको देखिन्छ जुन अघिल्लो वर्षको भदौमा १४ अर्ब ४२ करोड ७० लाख रुपैयाँ बराबरको थियो ।
पछिल्लो समय कनेक्ट आइपिएस, मोबाइल बैंकिङ, वालेट, इन्टरनेट बैंकिङ र क्युआर कोडजस्ता भुक्तानीका माध्यमबाट हुने कारोबार रकममा वृद्धि हुँदै गरेको देखिन्छ । गत आर्थिक बर्षको भदौ महीनाको तुलनामा चालु आर्थिक बर्षको भदौमा क्युआर कोड प्रयोग गरेर कारोबार भएको देखिन्छ ।
बैंकका अनुसार गत आर्थिक बर्षको भदौमा ५ अर्ब ८५ करोड ७० लाख रुपैयाँ बराबरको भुक्तानी भएको थियो भने चालु आर्थिक बर्षको भदौ मसान्तसम्ममा १५ अर्ब २ करोड ८० लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ ।
त्यस्तै भदौमा इन्टरनेट बैंकिङमार्फत १२ अर्ब १९ करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । गत भदौमा यसको प्रयोग गरी १३ अर्ब ५० करोड चार लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।
यसअनुसार अघिल्लो आवको समीक्षा महिनाभन्दा चालु आर्थिक बर्षको भदौमा इन्टरनेट बैंकिङको प्रयोगबाट हुने कारोबार रकममा भने १ अर्ब ३१ करोड रुपैयाँले कमी आएको छ ।यसैगरी गत आर्थिक बर्षको भदौमा एटिएमको प्रयोगबाट ७० अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएकामा चालु आर्थिक बर्षको भदौमा कारोबार वृद्धि भई ७५ अर्ब ७४ करोड ६० लाख रुपैयाँ पुगेको छ ।



