काठमाडौं । तिहारमा राती नौ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार विज्ञप्ति जारी गरी आफ्नो चिनजान भएको स्थानमा मर्यादित एवं सभ्य तवरले रातको नौ बजेसम्म मात्र देउसी भैलो खेल्न अनुरोध गरेको हो।
परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार, शान्ति सुरक्षालाई मध्यनजर राख्दै सांस्कृतिक पर्वलाई हर्षोल्लासका साथ मनाउनका लागि नौ वजेसम्मको समय निर्धारण गरिएको हो ।
तिहार पर्वमा अवाञ्छित गतिविधि देखिएमा तत्कालै प्रहरीलाई खबर गर्न समेत प्रहरीले आग्रह गरेको छ ।परिसरले आफ्नो टोल छरछिमेकमा जुवातास खेलेमा वा पटाका पड्काएको पाइएमा प्रहरीलाई खबर गर्न समेत आग्रह गरेको छ। मुलुकी अपराध संहिता, २०७४ को विष्फोटक पदार्थ (पटाका) सम्बन्धी कसुरमा तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको छ मैनालीले बताए ।
त्यसैगरी मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन, सार्वजनिक स्थानमा मद्यपान, धुम्रपान नगर्न, नगद बहुमूल्य सामान, गरगहना लकरमा राख्न, विद्युतीय माध्यमबाट मात्र आर्थिक कारोबार गर्नसमेत प्रहरीले राजधानी वासीलाई आग्रह गरेको छ।
त्यस्तै,तिहार तथा छठ पर्वका लागि गाउँ जान लागेको तस्बिर तथा जानकारी सामाजिक सञ्जालमा पोष्ट नगर्न पनि प्रहरीले सुझाएको छ।



