काठमाडौं । सशस्त्र प्रहरीको ट्रकले साइकललाई ठक्कर दिँदा २ जनाको ज्यान गएको छ । अन्य ७ जना घाइते छन् ।
सशस्त्र प्रहरीको ना १ ग ५५४ नम्बरको ट्रकले शुक्रबार साँझ कपिलवस्तुको वाणगंगा नगरपालिका–३, सिउटीमा ठक्कर दिँदा साइकलमा सवार यात्रुसहित एक सशस्त्र प्रहरीको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय पिपराका अनुसार, जीतपुरबाट तौलिहवा जाँदै गरेको सशस्त्र प्रहरीको ट्रक अनियन्त्रित भई साइकलमा सवार यात्रीलाई ठक्कर दिँदै दुर्घटनामा परेको थियो । प्रत्यक्षदर्शीले सशस्त्रको ट्रक द्रुतगतिमा चलाएका कारण दुर्घटना भएको बताएका छन् ।
मृत्यु हुनेमा ट्रक चालक सशस्त्र प्रहरी रमेश चौधरी र स्थानीय अमर तङनामी रहेको प्रहरीले जनाएको छ । तीन जना गम्भीर अवस्थाका घाइतेलाई थप उपचारका लागि बुटवल पठाएको छ । ४ जनाको गजेहडास्थित सामुदायिक अस्पताल उपचार भइरहेको जनाइएको छ ।



