काठमाडौं । नेपाल राष्ट्र बैंकले धनतेरसको अवसर पारेर सुनचाँदीको सिक्का (असर्फी) बिक्री थालेको छ । सो सिक्का किन्न इच्छुक नागरिकले काठमाडौं बबरमहलस्थित टक्सार विभागबाट खरिद गर्न सक्ने बैंकले जनाएको छ ।
राष्ट्र बैंकको अनुसार प्रतिव्यक्ति साढे २ ग्राम, ५ ग्राम र १० ग्राममा एकरएक थान असर्फी वितरण गरिनेछ । यो वर्ष धनतेरस कार्तिक ५ गते शनिबार परेको छ । धनतेरस शनिवार परे पनि असर्फिको माग धेरै हुने भएकाले राट्र बैंकले बिहीवार देखिनै असर्फी विक्री गर्न सुरु गरेको हो ।
सुन र चाँदीको सिक्का’ नै असर्फी हो । यो मुद्रा भएपनि चलनचल्तीमा आउने मुद्रा हैन । सुनलाई सिक्काको आकार दिएर बनाउने काम राष्ट्र बैंकले मात्र गर्ने गर्छ ।
असर्फी व्यक्ति र संस्था दुबैले खरिद गर्न सक्छन् । राष्ट्र बैंकले व्यक्तिलाई असर्फी बिक्री गर्दा सुनको प्रचलित बजार मूल्यमा प्रतिग्राम २ सय रुपैयाँ थप गरी मूल्य निर्धारण गरेको छ भने । संस्थालाई प्रतिग्राम ३ सय रुपैयाँ थप गरि विक्री गर्ने राष्ट्र बैंकले जनाएको छ ।
बिहीवार सर्वसाधारणले १० ग्रामको सुनको असर्फी ८२ हजार ९ सय २ रुपैयाँ र ५ ग्रामका असर्फीको मूल्य ४१ हजार ४ सय ५१ रुपैयाँ र २.५ ग्रामको सुनको असर्फीको मूल्य २० हजार ७ सय २६ रुपैयाँ पर्ने राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, १० ग्रामको चाँदीको असर्फीको मूल्य भने १ हजार ६ सय रुपैयाँ रहेको छ ।



