काठमाडौ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष तर्फ एक करोड ३७ हजार मतपत्र छाप्ने कार्य सम्पन्न भएको छ। आयोगले सबैभन्दा पहिले टाढा र ढुवानी गर्न आफ्ठ्यारो पर्ने स्थानबाट मतपत्र छाप्ने कार्य गर्दै आएको छ ।
आयोगका अनुसार, प्रतिनिधिसभातर्फको ५० लाख १३ हजार र प्रदेश सभातर्फको ५० लाख २४ हजार मतपत्रको छपाई सकिएको छ। दुवैका लागि करिब चार करोड थान मतपत्र आवश्यक पर्ने आयोगको अनुमान छ ।
बुधवारसाँझसम्म करिब २७ प्रतिशत मतपत्र छापिएको छ । निर्वाचन आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा उच्च सुरक्षा सहित मतपत्र छपाइ गर्दै आएको छ ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरा जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको आयोगको भनाइ छ ।
त्यसैगरी प्रदेशसभाका सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी र अछाम जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका सबै मतपत्र छाप्ने काम सम्पन्न गरेर पहिलो चरणमा प्रदेश १, मधेस प्रदेश र बाग्मती प्रदेशमा पठाइएको छ भने बिहीबारदेखि दोस्रो चरणको मतपत्र ढुवानी सुरु हुने आयोगले जनाएको छ ।
आयोगले मतदाता शिक्षाका लागि २२ लाख ४० हजार नमूना मतपत्र छापेर यसअघि नै जिल्ला, जिल्लामा पठाइसकेको छ ।



