काठमाडौं । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट ४५ लाख रुपैयाँ भन्दा बढी जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट ४५ लाख ५५ हजार ४ सय १४ रुपैयाँ जरिवाना ठहर भएका सप्तरी राजविराज नगरपालिका–८ घर भई हाल काठमाडौँ महानगरपालिका–१४ बस्ने ३२ वर्षीय दीपेन्द्र तातेडलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको गत भदौ १७ गतेको फैसलाले ४५ लाख ५५ हजार ४ सय १४ रुपैयाँ जरिवाना र १५ दिन कैद सजाया ठहर भएका तातेडलाई भोटेबहालबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
पक्राउ उनले जनता बैंक लिमिटेड काठमाडौँमा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नहुँदानहुँदै झुक्यानमा पारेर बैंकिङजन्य कसुर गरेकाले उनलाई अदालतको आदेशअनुसार पक्राउ गरिएको हो ।
पक्राउ दीपेन्द्रलाई जिल्ला अदालत काठमाडौँको आदेशअनुसार कैद भुक्तानको लागि आज केन्द्रीय कारागार सुन्धारा पठाइएको प्रहरीले जनाएको छ ।
सहकारीबाट ऋण मिलाइदिने भन्दै ठगी गर्ने पक्राउ
प्रहरीले सहकारीबाट ऋण मिलाइदिन्छु भनी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ महानगरपालिका–३ बाँसबारीस्थित चण्डोल बहुउद्देश्यीय सहकारी संस्थाबाट ऋण मिलाइदिन्छु भनी ३ लाख १२ हजार रुपैयाँ ठगी गर्ने ललितपुरका ५६ वर्षीय मणिकुमार थापालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ थापाले आफू उक्त सहकारीको सञ्चालक भएको भन्दै ३० लाख रुपैयाँ ऋण मिलाइदिन्छु भनी उक्त रकम ठगी गरेको प्रहरीले जनाएको छ । थापालाई प्रहरीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको सो कार्यालयले जनाएको छ ।



