काठमाडौं । जिल्लामा फूलखेती गरेका किसानलाई अहिले फूल टिपेर माला गाँस्न भ्याइनभ्याइ भएको छ । तिहार नजिकिएसँगै किसानले फूल टिपेर माला बनाउन थालेका हुन् । घोराही उपमहानगरपालिका–१४, झिगौरामा व्यावसायिकरूपमा फूलखेती गर्नुभएका लोकेन्द्र रोका मगर अहिले फूल टिपेर माला बनाउन थालेका छन् ।
घोराही उपमहानगरपालिका–१३ मा सामूहिक फूलखेती गर्नुभएका इन्द्रा बुढा मगरले पनि तिहारका लागि फूलको माला बनाउन सुरु गरेका हुन् । उनहरू जस्तै जिल्लामा अहिले फूलखेती गरेका किसानले तिहारका लागि तयारी सुरु गरिरहेका छन् । फूलको मालाको बढी माग हुने भएकाले तयारी थालिएको उनहरूको भनाइ छ ।
माला बनाएर कोल्डस्टोरमा राखिने उनहरूको भनाइ छ । जिल्लामा मात्र नभई जिल्ला बाहिरबाट समेत फूलको माग आउने गरेको घोराही उपमहानगरपालिका–१४, झिगौरामा जलजला पुष्पखेती फार्मका सञ्चालक लोकेन्द्रले बताए । बाहिर माग भए पनि पहिलो प्राथमिकता जिल्लामा नै दिने गरिएको उनले बताए ।
“जिल्लालाई प्राथमिकता दिएको हुनाले माग भए पनि बाहिर पठाउने गरिएको छैन”, उनले भने । उनले डेढ बिघा जग्गा भाडामा लिएर फूलखेती गरेको बताए । उनले झिगौरासँगै सुनपुरमा पनि फूलखेती गरको छन् । उनले विगतका वर्षदेखि फूलखेती गर्दै आएका छन् । रोजगारीको सिलसिलामा सात वर्ष कतारमा बिताउनुभएका लोकेन्द्रले जिल्लामा दसैंँ तिहारलगायतका पर्व एवं अन्य शुभकार्यका लागि फूलको माग देखेपछि फूलखेती गर्न थालेका हुन् ।
“दाङमा व्यावसायिकरूपमा फूलखेती कतै थिएन, काठमाडौँंतिर फूलखेती पनि व्यावसायिक रूपमा गरेको देखेको थिएँ, अनि यहाँ मैले गरेको हुँ”, रोकाले भने अहिले भारतको कोलकाताबाट अफ्रिकन मेरीगोल्ड जातको सयपत्रीको बीउ ल्याएर व्यावसायिक खेती गर्दै आउनुभएको छ । घोराही बजार नजिकै फूलखेती गरेपछि आफूलाई बजारको कुनै समस्या नभएको रोका बताउनुहुन्छ । जिल्लाको घोराही, तुलसीपुर, लमही र भालुवाङ सहरबाटसमेत फूलको माग हुने गरेको छ । “काठमाडौँंबाट फूलको माग भए पनि फूल पठाउन सकिएको छैन”, उनले भने । अहिले उनले एउटा मालालाई रु एक सयमा बिक्री गर्दै आएको बताए ।
पहिले तिहारका लागि मात्रै सयपत्री फूल उत्पादन गर्ने गरे पनि लोकेन्द्रले बाह्रैमहिना फूल उत्पादन सुरु गरेको बताउनुभयो । वर्षाको समय र बढी चिसो समयमा भने केही समस्या हुने गरेको उनको भनाइ छ । अहिले उनले सजावटका लागि फूलका बिरुवा, उत्पादन तथा बिक्रीसमेत गर्दै आउनुभएको छ । आफूसँगै परिवार तथा अन्य दुई जनालाई समेत रोजगारी प्रदान गरेको उहाँको भनाइ छ । फूलको माग दसैँ तिहारमा बढी हुने गरेको छ । यसै गरेर विभिन्न औपचारिक कार्यक्रम, विवाह, पूजाआजाका लागि फूलको माग हुने गरेको उनको भनाइ छ ।
जिल्ला फूलखेतीका लागि उपयुक्त रहेकाले यसको सदुपयोग गर्नसमेत उनको आग्रह छ । पछिल्लो समय सरकारी निकायबाट समेत सहयोग प्राप्त गर्न सफल भएको उनले बताए । घोराही उपमहानगरपालिका–१३ डुम्मर गाउँमा पनि व्यावसायिकरूपमा फूलखेती गरिँदै आएको छ । इन्द्रा बुढाले विगत छ वर्ष पहिलेदेखि व्यावसायिकरूपमा फूल खेती गर्दै आउनुभएको हो । उनले पनि अहिले फूले टिपेर माला बनाउन थाल्नुभएको छ । तिहारको लागि मागसमेत हुन थालेको उनको भनाइ छ ।
“माग हुन थालेसँगै फूल टिपेर माला बनाउन सुरु गरेका छौँ”, उनले भने । माला बनाएर कोल्ड स्टोरमा राखिने उनले बताए। उनका अनुसार उत्पादन भएको फूलको धेरै खपत जिल्लामा नै हुने गरेको छ । माला १ सयदेखि ३ सय रुपैयाँसम्म बिक्री गर्ने गरेको छ । मालाका डिजाइनअनुसार मूल्य बढी हुने गरेको छ । जिल्लामै व्यावसायिकरूपमा फूल खेती भएपछि बाहिरबाट आउने कृत्रिम मालालाई समेत विस्थापित गर्न सकिन्छ भनेर यस व्यवसायमा प्रवेश गरेको उनले बताए ।
अहिले आठ कठ्ठा जग्गा भाडामा लिएर व्यावसायिकरूपमा सयपत्री, मखमली, गोर्धौली र चाया फूलको खेती गरेको उनले बताए। चाडपर्वसँगै पछिल्लो समय जिल्लामा हुने औपचारिक कार्यक्रममासमेत हजारीको फूलको मालाको माग बढ्दै गएको उन बताए ।



