काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडिङ दुर्घटनाबारे छानविन गर्ने ७ सदस्यीय समिति गठन गरेको छ । प्राधिकरणले बुधबार उपमहानिर्देशक हंसराज पाण्डेको संयोजकत्वमा समिति गठन गरेको हो ।
आइतबार राष्ट्रिय खेलकुदको प्रतिस्पर्धाका क्रममा पोखराको सराङकोटमा नेपाली सेनाका एक खेलाडीको दुर्घटना भएलगत्तै प्राधिकरणले देशभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाएको छ ।
अहिले गठित समितिले उक्त दुर्घटनाका साथै समग्र प्याराग्लाइडिङ क्षेत्रको अवस्थाको बारेमा समेत अध्ययन गरी प्रतिवेदन बुझाउने कार्यादेश पाएको छ ।
समितिमा प्राधिकरणका साथै राष्ट्रिय खेलकुद परिषद्, हवाइ खेलकुद संस्था, स्वास्थ्य क्षेत्र लगायत आवश्यक क्षेत्रबाट सदस्य थप गर्नसक्ने व्यवस्था गरिएको छ ।