काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २८ लाख रुपैयाँसहित रामेछापका खानेपानी कार्यालयका इन्जिनियर सहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ । रामेछापको मन्थलीबाट खानेपानी तथा सरसफाई डिभिजन नम्बर–४ बागमतीका इन्जिनियरसहित दुई जनालाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा खानेपानी कार्यालयका इन्जिनियर नवराज सत्याल र करारमा कार्यरत पलम्बर बखत बहादुर थापा रहेका छन् । उनीहरुबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँ बरामद गरिएको अख्तियारले जनाएको छ । रामेछापको इन्छिनगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कामको भुक्तानीवापत उनीहरुले रकम लिएको आयोगले जनाएको छ ।
अख्तियारको टोलीले इन्जिनियर सत्याल र प्लम्बर थापालाई मन्थली नगरपालिका(१ स्थित खानेपानी कार्यालयको क्वार्टरबाट पक्राउ गरेको थप अनुसन्धान भएको आयोगले जनाएको छ ।



