नवलपरासी। (बर्दघाट सुस्ता पश्चिम)मा सशस्त्र प्रहरीले चिनी बरामद गरेको छ । भारतबाट नवलपरासीका सीमानाका हुँदै राजस्व छली गरी दैनिकरूपमा चिनी भित्रिने गरेको गुनासो बढेको बेला सशस्त्र प्रहरीले आज जिल्लाको रामग्राम नगरपालिका र प्रतापपुर गाउँपालिका क्षेत्रबाट ९० लाखको अवैध चिनी बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल हरपुर बिओपी र महेशपुर भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले आज बिहान प्रतापपुर गाउँपालिका–२ बाट ना६ख २१९७ नंको ट्रकमा रहेको ४ सय २० बेरा (२१ हजार केजी) र रामग्राम नगरपालिका–५ स्थित परासी–भैरहवा हुलाकी मार्गबाट लु१ख ९८७१ नंको ट्रकमा रहेको ४ सय २० बोरा (२१ हजार केजी) गरी ४२ हजार केजी चिनी बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण बेलाशपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रुपकुमार क्षेत्रीले जानकारी दिए ।
बरामद चिनीको प्रारम्भिक मूल्य रु ९० लाख अनुमान गरिएको उनले बताए । चिनीसँगैै ओसारपसारमा संलग्न दुईवटै ट्रकसमेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार चलान गरिएको उनले बताए ।



