images
images

राजनीतिक दल तथा उम्मेदवारलाई आयोगले दियाे ७ बुँदे निर्देशन


  • 307
    SHARES
  • २०७९ कार्तिक २ गते बुधबार

    राजनीतिक दल तथा उम्मेदवारलाई आयोगले दियाे ७ बुँदे निर्देशन

    काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न ७ बुँदे निर्देशन दिएको छ । आयोगले एक सुचना जारी गर्दै नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा प्रचार प्रसार गर्न बाहेक निर्वाचन आयोगको सहमति नलिई अन्यत्र कुनै दल वा उम्मेदवारको प्रचार प्रसार नगर्न निर्देशन दिएको हो ।

    आयोगले घरदैलो कार्यक्रम गर्दा सुरक्षाकर्मीसहित २५ जनाभन्दा बढी संख्याको जुलुस लिई हिँड्ने, राजनीतिक दलले जुलुस, आमसभा, कोणसभा वा भेला आयोजना गर्ने, अनुमति नलिई निर्वाचन प्रचारप्रसारको लागि सवारीसाधन प्रयोग गर्नेसमेतका गतिविधि भएको भन्दै सात बुँदे निर्देशन दिएको हो । 

    आयोगले आचारसंहिताको दफा ५ मा नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा प्रचार प्रसार गर्न बाहेक निर्वाचन आयोगको सहमति नलिई अन्यत्र कुनै दल वा उम्मेदवारको प्रचार प्रसार गर्न नपाइने समेत स्पष्ट गरेको छ । 

    प्रचार प्रसार गर्दा सरकारी स्रोत साधनको प्रयोग गर्न नपाइने व्यवस्था रहेको सन्दर्भमा सङ्घीय वा प्रदेश सरकारका मन्त्री उम्मेदवार भएको भए आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रसम्म निर्वाचन आचारसंहिताको प्रतिकूल नहुने गरी प्रचार प्रसार गर्ने, प्रचार प्रसारमा सरकारी साधन स्रोत तथा जनशक्तिको उपयोग नगर्ने, सरकारी कामको सिलसिलामा यात्रा गर्दा बाहेक निर्वाचन प्रचार प्रसारको लागि आफ्नो निर्वाचन क्षेत्रतर्फ जाँदा समेत सरकारी साधन स्रोतको उपयोग नगर्ने तथा आफू उम्मेदवार नभएको क्षेत्रमा आयोगको अनुमति लिई प्रचार प्रसार गर्न जाँदासमेत उल्लेखित व्यवस्थाको पालना गर्न आयोगले निर्देशन दिएको छ ।

    आचारसंहिताको दफा ५ बमोजिम स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा निर्वाचन प्रचार प्रसार नगर्ने र सो नियमको प्रतिबन्धात्मक वाक्यांशको खण्ड (४) बमोजिम अन्य स्थानीय तहमा निर्वाचन प्रचार प्रसार गर्दा तथा प्रचार प्रसारका लागि जाँदा वा आउँदासमेत सरकारी साधन स्रोत तथा जनशक्ति उपयोग नगर्न पनि निर्देशन दिइएको छ । 

    दफा १३ मा मतदान हुने दिन भन्दा सत्र दिन अघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा गर्न वा सञ्चारमाध्यममा कुनै प्रकारको प्रचार प्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न पाइने व्यवस्था भएकाले सो अवधि (२०७९ कात्तिक १७) गतेभन्दा अघि कुनै पनि राजनीतिक दल तथा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा जस्ता कार्यक्रम तथा सञ्चारमाध्यमबाट कुनै प्रकारको प्रचार प्रसार सामग्री प्रकाशन वा प्रसारण नगर्न आयोगले भनेको छ ।

    दफा १३ मा निर्वाचन प्रसार प्रसारको लागि आयोगले अनुमति दिएको सवारी साधन मात्र प्रयोग गर्न पाउने व्यवस्था रहेकाले सबै राजनीतिक दल तथा उम्मेदवारले आयोगले तोके बमोजिम अनुमति लिएर मात्र निर्वाचन प्रसार प्रसारको लागि सवारी साधन प्रयोग गर्ने, निर्वाचन प्रचार प्रसारको लागि अनुमति लिएका सवारी साधनबाहेक अन्य सवारी साधनमा दलको वा निर्वाचन चिन्ह अंकित झण्डा प्रयोग नगर्न पनि निर्देशन दिइएको छ ।

    दफा १३ को उपदफा (१) को खण्ड (ज) मा कसैको निजी घरजग्गा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकको पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने व्यवस्था रहेको तथा सोही दफाको उपदफा (२) मा त्यस्तो सामग्री राखेको वा टाँसेको भएमा सम्बन्धित निर्वाचन क्षेत्रको सम्बन्धित उम्मेदवारले नै राखेको मानी कारबाही हुने व्यवस्था रहेको आयोगले स्मरण गराएको छ ।

    unnamed.jpg

    unnamed (1).jpg


    images
    images

    Logo