काठमाडौं । ताप्लेजुङमा ट्याक्टर दुर्घटनामा परेर एकाघरका दाजुभाइसहित चार जनाको ज्यान गएको छ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ तेल्लावुङवाट वडा नम्बर–५ काम्माङ जाँदै गरेको मे १ त ५६५५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार, मंगलबार राति साढे १२ बजेतिर ताप्लिङ खोल्सामा ट्याक्टर पल्टिएको थियो । मृत्यु हुनेमा वडा नम्बर–५ कामसाङका ३१ वर्षीय चालक पासाङ शेर्पा र उनका २४ वर्षीय भाइ फुर्वा शेर्पा रहेका छन् । आमा बिरामी भएपछि ढुङगेसाँघुबाट ट्याक्टर लिएर घरतर्फ जाँदै गरेको अवस्थामा उनीहरू दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
त्यस्तै ट्याक्टरमा सवार वडा नम्बर–४ ओदकका २२ वर्षीया शर्मिला शेर्पा र १७ वर्षीया लाकी शेर्पाको पनि ज्यान गएको छ ।चारैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । साँघु प्रहरी चौकीबाटे र सदरमुकाम फुङलिङबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोलीघटनास्थलमा गएको छ । प्रहरी टोली पुगेपछि विस्तृत विवरण आउने प्रहरीले जनाएको छ ।



