काठमाडौ । घरयसी बिवादमा भतिजालाई गोली हानेर गम्भीर घाइते बनाएपछि झापाका एक पुर्व प्रहरीले आत्महत्या गरेका छन् ।
जिल्लाको गौरादह नगरपालिका(८ का ३५ वर्षीय वीरेन साहले आफैंलाई गोली प्रहार गरी आत्महत्या गरेका हुन् । साहले मंगलबार राति ८ बजेतिर घरबाट करिब ७० मिटर टाढा आफैंलाई गोली हानी आत्महत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । साँझ ६ बजे घरमा सामान्य विवाद भएको थियो ।
सोहि विवादले ठूलो रुप लिएपछि वीरेनले भतिजा १५ वर्षीय हेमराज साहलाई गोली प्रहार गरेका थिए ।पेस्तोलबाट प्रहार गरेको गोली भतिजा हेमराजको ढाडमा लागेको बताइएको छ । उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
घटनास्थलबाट प्रहरीले १५ थान गोली बरामद गरेको छ । घट्नास्थलमा फेला परेको पेस्तोल नम्बर बिनाको रहेकाले भारतबाट अवैध रूपमा बनाएर ल्याएको हुन सक्ने आशंका प्रहरीको छ । पूर्वसशस्त्र प्रहरी रहेका वीरेनले तीन वर्षअघि जागिर छोडेका थिए ।



