काठमाडौं । आसन्न निर्वाचनमा पुर्वी पहाडी जिल्ला तेह्रथुममा पुराना र नयाँ पुस्ताबीचको प्रतिस्पर्धा छ । सत्ता गठबन्धनले नयाँ पुस्ताका युवा उम्मेदवारहरुलाई अघि सारेको छ भने नेकपा एमालेले फेरि पनि पटक–पटक जिल्लाको नेतृत्वमा निर्वाचित भएर परीक्षण भइसकेका नेताहरुलाई नै उभ्याएको छ ।
नेकपा एमालेले जिल्लाबाट प्रतिनिधिसभा सदस्यकालागि ६४ वर्षे विजय सुब्बालाई उम्मेदवार बनाएको छ । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी ४६ वर्षे युवा नेता सीता गुरुङ चुनावी मैदानमा छिन् ।
एमालेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष रहेका सुब्बाको राष्ट्रिय राजनीतिमा राम्रो पकड छ । गीतसंगीतमा राम्रो दख्खल भएका सुब्बा जनताका सुखदुःखका गीत गाउने नेताका रूपमा पनि चिनिन्छन् ।
तर उनले केन्द्रीय राजनीतिमा भएको पकडलाई जिल्लाको विकासमा खर्चिन भने सकेनन् । विगतमा यहीबाट दुई पटक चुनाव जितेपनि जिल्लाको लागि उनको सम्झनायोग्य योगदान भने केही पनि छैन । २०४८ र ५६ मा जिल्लाबाट प्रत्यक्ष निर्वाचित भएका सुब्बा बीचमा एमाले छोडेर संघीय समाजवादीतिर लागेका उनी ७१ मा फेरि एमालेमै फर्किएका थिए ।
जिल्लाको राजनीतिमा करिब २० वर्षदेखि गुमनाम बनेका सुब्बालाई अहिले फेरि एमालेले उम्मेदवार बनाएको छ । तर एमालेकै पूराना कार्यकर्ताले उनलाई अवसरवादी नेताका रूपमा चित्रण गर्छन् । ७४ मा भने उनी समानुपातिकबाट सांसद बनेका थिए । उनलाई पहुँचमा भएपनि जिल्लाको लागि काम गर्न नसकेको र चुनाव लड्नैमात्रै जिल्ला आउने गरेको आरोप छ ।
कांग्रेसले भने यसपटक पनि अघिल्लो निर्वाचनकै प्रतिस्पर्धी सीता गुरुङलाई उठाएको छ । केन्द्रीय राजनीतिमा उनको पनि कमजोर पकड होइन । उनी कांग्रेस सभापति तथा हाल प्रधानमन्त्री शेरबहादुर देउवानिकट गुरुङ ६४ र ७० मा निरन्तर समानुपातिकबाट संविधानसभा सदस्य बनेकी थिइन् । उनी भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री समेत भइसकेकी छिन् । सुब्बा जिल्लाको राजनीतिमा गुमनाम हुँदा गुरुङले जिल्लामा गरेका कामका कारण उनी जिल्लाकै आशालाग्दा नेतामध्ये एक हुन् । जिल्लामा उनको विकासप्रेमी नेताको परिचय बनेको छ ।
हाल कांग्रेसको तेस्रो पटक केन्द्रीय सदस्य रहेकी गुरुङ ७४ को चुनावमा बामगठबन्धनका उम्मेदवार खापुङसँग २ हजार २१ मतले पराजित भएकी थिइन् । त्यसबेला बामगठबन्धनमा रहेको नेकपा माओवादी केन्द्र यसपटक उनको साथमा छ ।
जिल्लामा पछिल्लो दशकमा सबैभन्दा धेरै विकासे योजना भित्राउने नेताकोरुपमा रहेकी गुरुङले मध्यपहाडी लोकमार्गलाई जिल्लाका छ मध्ये पाँच पालिका भएर निर्माण गर्न मुख्य भूमिका खेलेको दाबी गर्छिन् । सडक, पुल पुर्वाधार, खानेपानी र विद्युतीकरणमा गुरुङको योगदान रहँदै आएको छ । तेह्रथुमे जनताले जनमत दिएर काम गर्ने मौका दिए आफुसँग जिल्लाको समुन्नतिका लागि थुप्रै योजनाहरु रहेको उनको दाबी छ ।
त्यसो त सुब्बाले पनि कमजोर दाबी भने गरेका छैनन् । पटक(पटक चुनाव जितेरै सांसद भएपनि एमालेमा मन्त्री बन्ने अवसर नपाएका सुब्बाले अहिले पनि आश्वासन भने उत्तिकै बाँडिरहेका छन् । एमालेले १५ र ६४ बाहेकका सबै आमनिर्वाचन जितेपनि एकपटक पनि मन्त्री नपाएको जिल्ला हो तेह्रथुम । यहाँबाट चुनाव जितेका खापुङ एकवर्ष अघि एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा लागेपछि अहिले स्वास्थ्य तथा जनसंख्यामन्त्री छन् । गठबन्धन सरकारको मन्त्री रहेका खापुङ पनि यसपटक कांग्रेसकी गुरुङकै लागि भोट मागिरहेका छन् । ०७४ मा खापुङ र गुरुङ नै प्रतिस्पर्धी थिए ।
प्रदेशसभातर्फ पनि उस्तै अवस्था छ । एमालेले पटक-पटक मौका पाएर पनि लोकप्रिय काम गर्न नसकेका पूराना नेताहरुलाई उठाएको छ भने सत्ता गठबन्धनबाट युवा र जुझारु नेताहरु उम्मेदवार छन् । प्रतिनिधिसभामा जस्तै प्रदेशसभामा पनि यहाँ रोचक प्रतिस्पर्धा छ । प्रदेशसभा १ मा नेपाली कांग्रेसका ४४ वर्षे सन्तोष सुब्बा उम्मेदवार छन् भने एमालेले ६५ वर्षे किशोरचन्द्र दुलाललाई उम्मेदवार बनाएको छ । बाबु-छोरा पुस्ताका दुलाल र सुब्बाबीच यहाँ रोचक प्रतिस्पर्धा देखिन्छ ।
तत्कालिन जिल्ला विकास समितिको सभापति रहेका दुलाल हाल एमालेको प्रदेश १ कमिटी सचिवालय सदस्य छन् । पटक(पटक रहर गर्दा पनि एमालेको जिल्ला अध्यक्षसमेत हुन नसकेका दुलाल निरन्तर राजनीतिमा सक्रिय त छन् । तर मौका पाउँदा समेत लोकप्रिय काम गर्न नसकेका कारण जिल्लामा उनको पक्षमा जनलहर भने छैन ।
उनीसँगै मैदानमा उत्रिएका कांग्रेस नेता सुब्बा भने नयाँ अनुहार हुन् । अहिलेसम्म पार्टी राजनीतिमा लोकप्रिय रहेका सुब्बा अब जनप्रतिनिधि बनेर जिल्लाको सेवा गर्ने दाबी गरिरहेका छन् । हाल कांग्रेस महामन्त्री गगनकुमार थापासँग निकट मानिने सुब्बा महासमिति सदस्य हुन् । उनी यसअघि कांग्रेसको जिल्ला सचिव र युवा भ्रातृ संस्था नेपाल तरुण दलको दुई पटक अध्यक्ष भएर काम गरिसकेका युवामाझ लोकप्रिय नेता हुन् ।
प्रदेशसभा २ मा पनि बाबु छोरा पुस्ताबीच प्रतिस्पर्धा
प्रदेशसभा २ मा पनि बाबु(छोरा पुस्ताकै उम्मेदवार मैदानमा छन् । नेकपा एमालेले जिल्ला अध्यक्ष ६८ वर्षे तेजमान कन्दङवालाई उम्मेदवार बनाएको छ भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ४० वर्षे दुर्गाप्रसाद चापागाईं उम्मेदवार छन् । कन्दङवा र चापागाईं दुवै एउटै गाउँका छिमेकीसमेत हुन् ।
तर कन्दङवा पटक(पटक अवसर पाएपनि देखिने गरी विकास गर्न नसक्ने नेताकोरुपमा चिनिन्छन् भने चापागाईं उदाउँदो भविष्यकोरुपमा परिचित छन् । केन्द्रीय नेतृत्वसँग राम्रो पकड बनाएका चापागाईंले जिल्लाको विकास निर्माणमा राम्रो योगदान पुर्या एका छन् । यसअघि वर्षमान पुन उर्जामन्त्री हुँदा उनको स्वकीय सचिव बनेका उनले जिल्लामा विद्युतीकरण र काठको पोल विस्थापनमा गरेको कामको चर्चा छ ।
तत्कालिन जिल्ला विकास समितिका उपसभापति समेत रहेका कन्दङवा ७४ मा यहीबाट प्रदेशसभा सदस्य निर्वाचित थिए । एमाले अध्यक्ष ओलीसँग निकट मानिने उनले यो पाँच वर्षमा एक पटक मन्त्रीसमेत पाएनन् । प्रदेशसभामा समेत उनको भुमिका देखिएन । उनलाई जिल्लाका नागरिकका समस्या र गुनासा प्रदेशसभासम्म पुर्यााउन नसकेको आरोप छ । चापागाईं ७० मा संविधानसभा सदस्यको उम्मेदवार थिए । उनी माओवादी केन्द्रको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्य बनेका हुन् ।



