काठमाडौं । आज काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरस्थित मिठाई पसल, थकाली भान्छा घर र रेष्टुरेन्टको अनुगमन गरेको छ । यस अनुगमनको क्रममा नयाँ बानेश्वर क्षेत्रका मिठाई पसल, रेष्टुरेन्ट तथा थकाली खाना घरहरुको भान्छामा स्वच्छता र सफाईको समस्या देखिएको महानगरपालिका अनुगमन टोलीले जनाएको छ ।
स्वास्थ्य विभागको नेतृत्वमा गएको अनुगमनका क्रममा वडा नं. १० मा रहेको द थकाली एण्ड सेकुवा क्याफे र थाकखोला ग्रुप प्रा. लि. ले सञ्चालन गरेको थकाली भान्छा, वडा नं. ३१ मा सञ्चालित कोलकत्ता स्वीट्स प्रा. लि., द बर्गर हाउस (सीएफसी), लोकप्रिय लुम्बिनी तन्दुरी भोजनालय र फलफुल पसलको अनुगमन गरिएको थियो ।
अनुगमन टोलीले अनुगमन गरिएका सबैको भान्छामा सरसफाई र स्वच्छताका दृष्टिले कमजोर छन् । परिकार बनाउने कच्चा पदार्थहरु चामल, दाल, मसलाको उपयोग म्यादका विषयमा सञ्चालकहरुलाई खास चासो देखिएन । भान्छामा काम गर्नेहरुको व्यक्तिगत सफाई कमजोर छ । उनीहरुले एप्रोनको सही प्रयोग गरेका छैनन् । फ्रिजमा राखिने बस्तुको व्यवस्थापन कमजोर छ । खाद्य अनुज्ञा पत्र प्राप्त नभएका, उपभोग्य मिति उल्लेख नभएका बस्तुहरुको प्रयोग देखिन्छ ।यसका साथै ‘बर्गर हाउसको फ्रिजमा खान नमिल्ने मासु भेटिएको टोलीले जनाएको छ ।
यसरी उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पुग्ने गरी व्यवसाय सञ्चालन गर्ने होटल तथा मिठाइ पसल सञ्चालकलाई ३ दिनभित्र कार्यालयमा हाजिर हुन भनिएको छ ।



