images
images

ब्याजदर बढेपछि व्यवसायीद्वारा ‘बैंक धर्ना’


  • 373
    SHARES
  • २०७९ कार्तिक १ गते मंगलबार

    ब्याजदर बढेपछि व्यवसायीद्वारा ‘बैंक धर्ना’

    काठमाडौं । बैंकहरूले आफूखुसी ब्याजदर बढाएको भन्दै सुर्खेतका व्यवसायीले सोमबार बैंकमा धर्ना दिएका छन् । बैंकको चर्को ब्याजदरविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका व्यवसायीले सुर्खेतका विभिन्न बैंकमा पुगेर धर्ना दिएका थिए ।
     
    आइतवारदेखि सुरु भएको बैंक बहिस्कार कार्यक्रमलाई सोमवार पनि निरन्तरता दिइएको सङ्घर्ष समितिका संयोजक लक्ष्मण कँडेलले जानकारी दिए । उक्त कार्यक्रमअन्तर्गत व्यवसायीले बैंकिङ कारोबारमा सहभागी नहुने बताएका छन् । 

    सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्षसमेत रहेका संयोजक कँडेलले असोज महिनाको ब्याज र किस्ता नतिर्न पनि सबै व्यवसायीलाई आह्वान गर्दै सङ्घर्ष समितिले बैंकका शाखा प्रमुखहरूलाई भेटेर आफ्ना मागबारे जानकारीसमेत गराएको बताए । 

    संयुक्त सङ्घर्ष समितिका संयोजक कँडेलले विगतमा छ–सात प्रतिशत रहेको ब्याज १७–१८ प्रतिशत पु¥याउँदा व्यवसायी तनावमा रहेको बताए। बैंकले किस्ता तिर्न बारम्बार फोन गरी यातना दिन थालेपछि आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको उनको भनाइ थियो । 

    उनले बैंक तथा वित्तीय संस्थाको नियमन गर्ने निकाय नेपाल राष्ट्र बैंक पनि मौन भएर बसेकाले बैंकले मनोमानीरूपमा ब्याज बढाइरहेको आरोप लगाए । 

    चेम्बर अफ कमर्सका अध्यक्ष चिन्तामणि शर्माले राष्ट्र बैंकले प्रभावकारी ढङ्गले नियमन र नियन्त्रण नगर्दा बैंकले चर्को ब्याज लिइरहेको बताए। सुर्खेत उद्योग वाणिज्य सङ्घका महासचिव भद्र भण्डारीले दसैँजस्तो चाडमा पनि सुर्खेतको व्यापार बढ्न नसकेको बताए । उनले विगतको तुलनामा यसपटकको दसैँमा ५० प्रतिशतमात्रै व्यापार भएको जानकारी दिँदै बैंकले लगानी नगर्दा र ब्याजमात्रै वृद्धि गर्दा अर्थतन्त्र चलायमान हुन नसकेको बताए।
     
    माग पूरा नभएसम्म चरणबद्ध आन्दोलन जारी राख्ने सङ्घर्ष समितिले जनाएको छ । व्यवसायीहरूले कर्जाको ब्याजदर नौ प्रतिशतभन्दा कम हुनुपर्ने, कर्जा प्रवाह गर्दा बैंकहरूले विभिन्न शीर्षकमा सेवा शुल्क लिन नहुने, पुरानो चालु पूँजी कर्जा निर्देशिकालाई कायम राखी नयाँ निर्देशिकालाई क्रमिकरूपमा लागू गर्नुपर्ने, धितो लिलामी प्रक्रिया २०७९ चैतसम्म कायम राख्नुपर्ने साथै राष्ट्र बैंकले जारी गर्ने रिपो एक प्रतिशतमा झार्नुपर्नेलगायतका माग राखेका छन् ।


    images
    images

    Logo