images
images

कहाँ राखिन्छ शताब्दी पुरुषको पार्थिव शरीर ? यसरी गरिँदैछ सुरक्षित 


  • 793
    SHARES
  • २०७९ आश्विन ३० गते आइतबार

    कहाँ राखिन्छ शताब्दी पुरुषको पार्थिव शरीर ? यसरी गरिँदैछ सुरक्षित 

    काठमाडौं ।  जिउँदो इतिहासका साक्षीका रूपमा १०३ वर्षको उमेरमा आज महाप्रस्थान गरेका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई अध्ययन अनुसन्धानका लागि अस्पतालमा राखिने भएको छ ।

    पारिवारिक सहमतिअनुसार स्व जोशीको शवलाई दाहसंस्कार नगरी चिकित्साशास्त्र सम्बन्धी अध्ययनका लागि ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालमा राखिने भएको हो । अस्पतालका निर्देशक प्रा डा सुरज बज्राचार्यले जोशीको पार्थिव शरीरलाई मेडिकल चिकित्सा प्रणालीअनुसार अध्ययन अनुसन्धानका लागि अस्पतालमा राखिने जानकारी दिए । 

    उनले भने, “अहिले जोशीको पार्थिव शरीरलाई नबिग्रिने हिसाबले केमिकल र औषधि प्रयोग गरेर सुरक्षितरूपमा ‘प्रिजर्भ’ गरिएको छ । ‘प्रोफेसर’ को भनाइअनुसार उनको शरीरलाई चिरकालसम्म कुनै पनि तत्वले बिगार्न सक्दैन । उनको शरीरबाट चिकित्सा प्रणाली अनुरूप कसरी ज्ञान र सीप लिन सकिन्छ, त्यो आर्जन गर्नेछौँ ।” जोशीको पार्थिब शरीरलाई परिवारले किष्ट शिक्षण अस्पताललाई पूर्णरूपमा हस्तान्तरण गरेको छ ।  

    “चिकित्सा प्रणाली अनुरुप के–के गर्नुपर्ने हो, शरीरको कुन भागको अध्ययन अन्वेषण गर्ने र उनको शरीरलाई चिकित्सकीय प्रणालीमा के–कसरी प्रयोग गर्ने भन्ने विज्ञहरुको रायअनुरुप अघि बढ्छौँ । ‘प्रिजर्भ कन्डिसन’ कति समय रहन्छ भन्ने अहिले भन्न सकिन्न”, उनले भने ।

    अस्पतालले जनाएअनुसार स्व जोशीको शरीरको हरेक भागलाई अध्ययन अनुसन्धान गरिनेछ । स्व जोशीको चाहनाअनुरुप चिकित्सा प्रणालीमा अनुसन्धान हुनेछ ।

     ‘मेरो शरीरको चिकित्सा प्रणाली अनुरुप अध्ययन होस्’ भन्ने उनको चाहना थियो सोही अनुरुप सम्पूर्ण अङग प्रत्यङ्गको सूक्ष्मरूपमा अध्ययन अन्वेषण गरिन्छ’ स्व जोशीको भनाई उधृत गर्दै अस्पतालका निर्देशक बज्राचार्यले भने । उनले जोशीबारे चिकित्सा शिक्षा मात्र नभई हरेक क्षेत्रमा अध्ययन गर्न चाहनेलाई अनुसन्धान गर्ने अवसर दिइने बताए । स्व जोशीको शरीरको विस्तारै अध्ययनको प्रक्रिया शुरु गरिने र  विशेषज्ञ चिकित्सकहरुबाट शरीरको हरेक भागको अध्ययन हुनेछ ।

    कहाँ राखिन्छ पार्थिव शरीर 
          
    किष्ट शिक्षण अस्पतालले जोशीको पार्थिव शरीरलाई अस्पताल परिसरकै आधारभूत साइन्स भवनको हलमा राख्ने निर्णय गरेको छ । अस्पतालका निर्देशक बज्राचार्यले जोशीको शरीर अध्ययनका लागि अस्पतालको बेसिक साइन्स ल्याब रहेको भवनमा राखिने बताए । 

    अस्पतालमा जोशीको शरीर रहे पनि सर्वसाधरणले भने हेर्न पाउने छैनन् । मेडिकल क्षेत्रका अनुसन्धानकर्ताले अनुमति लिएर मात्रै हेर्न र अध्ययन गर्न पाउने निर्देशक बज्राचार्यले बताए । उनले भने, “परिवारले नै हामीलाई गोपनीयता र सम्मानस्वरूप राखिदिनुस् भन्नुभएको छ र मेडिकल ‘इथिक्स’को पनि कुरा हुन्छ ।”
          
    आज बिहान सात बजेर नौ मिनेटजाँदा दुःखद निधन हुनुभएका जोशीको चिकित्सा प्रणाली पूरा गरेर मध्याह्न अस्पतालमा आधा घण्टा श्रद्धाञ्जलिका लागि राखिएको थियो । त्यसपछि ललितपुर महानगरपालिका प्राङ्गणमा अन्तिम श्रद्धाञ्जलिका लागि साँझसम्म राखियो । त्यहाँ प्रधानमन्त्री, मन्त्रिगण, विभिन्न राजनीतिक दलका शीर्ष नेता, साहित्यकार एवं शुभेच्छुक सर्वसाधारणको उल्लेख्य सङ्ख्यामा उपस्थिति थियो । स्व जोशीलाई राष्ट्रिय सलामी अर्पण गरी अन्तिम बिदाइ गरिएको थियो ।

    श्रद्धाञ्जलिपछि परिवारले जोशीको पार्थिव शरीर किष्ट अस्पताललाई पूर्णरूपमा हस्तान्तरण गरेको छ । अन्त्येष्टि नगरिए पनि त्यसबाहेकका अन्य संस्कार विधिपूर्वक पूरा गरिने उनका जेठा छोरा अणुराज जोशीले बताए । आफूहरुको इच्छाअनुरुप बुबाको शरीर अस्पतालाई दिइएको उनले उल्लेख गरे ।

    “मरणोपरान्त अस्पतालमा अध्ययन गर्नका लागि शरीर दान गर्ने बुबा (स्व जोशी) को इच्छा अनुरुप लेखेरै दिनुभएको थियो, मैले पनि हस्ताक्षर गरेको हुँ, सोही अनुरुप शवअस्पताललाई हस्तान्तरण गरिएको छ”, उनले भने, “बुबाको इच्छा त केही नगर्नु भन्ने थियो, ९९ वर्षीया आमाको पनि सोही इच्छा छ तर, अन्तिम दाहसंस्कार बाहेक भोलिदेखि अन्य संस्कार गर्छौँ होला । पुरोहितसँग सल्लाह गरेर बाँकी काम सक्छौँ”, उनले भने ।


    images
    images

    Logo