काठमाडौं । सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ आजबाट खन्न सुरु हुँदैछ । राष्ट्रिय गौरवको सूतीमा रहेको सो आयोजनाले टीबीएमबाट आजदेखि सुरुङ खन्न लागेको हो । सो आयोजनाले मुआब्जासम्बन्धी सम्पूर्ण विवाद समाधान गरी निर्माणको चरण सुरु गरेको हो ।
यो परियोजनाको मुख्य उद्देश्य मधेश प्रदेशका पाँच जिल्लाहरु धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा सिँचाई पुर्याउनेछ । उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले करिब साढे १० अर्बमा सुरुङ निर्माणको ठेक्का लगाएको छ ।
सिन्धुली र रामेछाप हुँदै बग्ने सुनकोशी नदीलाई बाँध बाँधेर तराईका पाँच जिल्लामा सिँचाई तथा ३१ मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य यस आयोजनाले लिएको छ । सिन्धुली जिल्लास्थित खुर्कोटमा हेडवर्क निर्माण गरी १३.२ किलोमिटर सुरुङमार्फत ६७ क्विक मिटर सेकेण्डले सुनकोशी नदीको पानी मरिन नदीको किनारमा पुर्याउने गुरुयोजनामा उल्लेख छ । खुर्कोटबाट सुरुङमार्फत ल्याएको पानीलाई सिन्धुली जिल्लास्थित कमलामाई नगरपालिका–२, कुसुमटारमा रहेको मरिन नदीको किनारमा बनाइएको ६४ मिटर अग्लो हेडमा खन्याइनेछ ।
त्यसबाट ३१ मेगावाट विद्युत् उत्पादन गरी निस्किएको पानी मरिन नदी हुँदै बागमती नदीमा खसालिनेछ । यसमार्फत बागमती सिँचाइ आयोजनामा करिब १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने आयोजनाको मुख्य लक्ष्य छ ।
यसरी बागमतीको नहरबाट आएको पानीलाई पूर्वी नहरतर्फबाट ७६ हजार ६०० हेक्टर र पश्चिमतर्फ ४५ हजार ४०० हेक्टरमा विभाजन गर्ने योजना छ । हाल बागमती सिँचाइ आयोजनाबाट ४५ हजार हेक्टर जमिनमा मात्रै सिँचाइ गर्न पानी पर्याप्त हुन्छ ।
आयोजना अन्तर्गत सिन्धुलीको खुर्कोटदेखि लगभग दुई किलोमिटर माथि सुनकोशी नदीमा १५८ मिटर लामो व्यारेज वा ड्याम निर्माण गरिनेछ । त्यस्तै १५० मिटर लामो डिसेन्डिङ्ग बेसिन जसले सुनकोशी नदीबाट आएको पानी छान्ने काम गर्छ ।
५.५ मिटर व्यास भएको टनेल इन्ट्री पोर्ट र १३।३ किलोमिटर लामो सुरुङ निर्माण खुर्कोटबाट नै हुनेछ । उक्त सुरुङ निर्माण टनेल बोरिङ मेसिन ‘टीबीआईए’ प्रविधिबाट निर्माण गरिने आयोजनाले जनाएको छ । उक्त प्रविधिबाट सुरुङ खन्दा मेसिनले खन्ने र ब्लास्टिङ गर्नुपर्ने झन्झट नहुनुको साथै काम छिटो हुने आयोजनाले जनाएको छ ।
त्यस्तै सिन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारमा सर्च पण्ड, ३१ मेगावाट क्षमताको विद्युत् गृह, ४४ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण गर्ने आयोजनाको लक्ष्य रहेको छ । यस परियोजनाबाट हुने विद्युत् उत्पादन वर्षभरि नै ३१ मेगावाटबाट नघट्ने आयोजनाको विश्वास छ । आयोजनाबाट उत्पादन हुने बिजुली ४२ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरी नवलपुरमा जोडिनेछ ।



