काठामाडौं । आज विश्व मानसिक स्वास्थ्य दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाईदै छ । नेपालमा प्रत्येक वर्ष मानसिक रोगीको संख्या बढ्दै गएको छ । सरकारले भने मानसिक स्वास्थ्यलाई प्राथमिकतामा नराखेकाले मानसिक रोगीले भरपर्दो उपचार सेवा समेत पाउन सकेका छैनन् ।
‘मानशिक स्वास्थ्यका लागि मर्यादा’ भन्ने नाराका साथ विश्व स्वास्थ्य संगठनको आव्हानमा हरेक वर्षको अक्टोबर १० लाई मानसिक स्वास्थ्य दिवसका रुपमा मनाउने गरिन्छ । दिवसका अवसरमा यस क्षेत्रमा काम गरेका सरकारी तथा गैरसरकारी संस्थाले जनचेतनामुलक कार्यक्रम आयोजना गरेका छन् ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार नेपालमा करिब ४५ लाख मानिसलाई कुनै न कुनै किसिमको मानसिक समस्या छ भने करिब ३ लाख नेपालीमा कडा खालको मानसिक रोग छ ।
सामान्य कुरामा पनि तनाव लिँदा भविष्यमा मानसिक रोग लाग्ने भएकाले तनावमुक्त रहने र आफ्नो दैनिकीमा आएको परिवर्तनले असर गर्न थाले मानसिक रोगको संभावना उच्च हुने मनोचिकित्सकहरुको भनाई छ । चिन्ता, तनाव, एङजाइटी, डिप्रेशन, फोबिया लगायतका समस्याले मानसिक रोग उत्पन्न हुन्छ ।
यी समस्या पहिलो चरणमा भए मनोपरामर्शले निको हुने, दोस्रो चरणमा भए डाक्टरको सल्लाहमा केही समय औषधि खाए पुग्ने र तेस्रो चरणमा भए लामो समय औषधि खाँदा मानसिक रोक निको हुने चिकित्सकहरुको भनाई छ । एक्लै बस्न मन लाग्ने, रुन मन लाग्ने, कराउने, चिच्याउने, पढ्न मन नलाग्ने जस्ता व्यवहार परिवर्तन हुनु यी समस्याका लक्षण हुन् ।
परिवारका सदस्यमा यस्तो परिवर्तन देखिए उनीहरुको कुरा सुन्ने, पहिलेको दैनिकीमा फर्काउने कोसिश गर्ने र सकारात्कम सोच्न लगाउने गर्नाले पनि मानसिक रोग उत्पन्न नहुने चिकित्सकहरुको भनाई छ ।



