images
images

प्रधानमन्त्री देउवा सातौँ पटक उम्मेदवारी दिँदै 


  • 360
    SHARES
  • २०७९ आश्विन २३ गते आइतबार

    प्रधानमन्त्री देउवा सातौँ पटक उम्मेदवारी दिँदै 

    काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज डडेल्धुराबाट उम्मेदवारी दर्ता गराउँदै छन् । उनले प्रतिनिधिसभा सदस्यका लागि आज सातौँ पटक उम्मेदवारी दर्ता गराउन लागेका हुन्

    प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रधानमन्त्री तथा कांगे्रसका सभापति देउवाले यसअघि जस्तै यसपटक पनि डडेल्धुराबाट नै उम्मेदबारी दिँदै छन् । प्रधानमन्त्री देउवाको तर्फबाट उनकी धर्मपत्नी एवं नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले आज अपराह्न २ बजे मनोनयन दर्ता गराउने नेपाली कांगे्रस डडेल्धुराले जनाएको छ । उम्मेदवारी दर्ताका लागि वारिसनामासहित प्रधानमन्त्री पत्नी डा राणा शनिबार बेलुका नै डडेल्धुरा आइपुगेकी छिन् । 

    प्र्रधानमन्त्री देउवा डडेल्धुराबाट विसं २०४८ मा पहिलो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। उनी त्यस यताका सबै आमनिर्वाचनहरुमा निर्वाचित हुँदै आएका छन् ।

    उनले प्रतिनिधिसभाका लागि भएको पछिल्लो २०७४ सालकोे निर्वाचनमा डडेल्धुराबाट नै छैटौँ पटक निर्वाचित भएका थिए । विसं २०४८ यताका सबै निर्वाचनमा विजयी भएका देउवा आसन्न निर्वाचनमा पनि डडेल्धुराका जनताको साथ, समर्थन र मायाले आफ्नो इतिहासलाई कायम राख्दै निरन्तरता दिने प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवाले बताइन् । 

    उनले भूगोलमा मात्र नभएर विकासमा नै पछि परेको सिङ्गो सुदूरपश्चिम क्षेत्रको सामाजिक, आर्थिकलगायत समग्र उन्नयनमा नेपाली कांग्रेसको एक प्रतिनिधिका रुपमा शेरबहादुर देउवाले आफ्नो राजनीतिक जीवनमा पु¥याएको उल्लेखनीय योगदानको स्मरण गरी उनलाई आगामी निर्वाचनमा पनि यहाँका नागरिकले पहिले जस्तै न्याय गर्नेमा आफू ढुक्क रहेको धारणा राखे ।   

    यसअघि विसं २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा डडेलधुराबाट विजयी देउवा विसं २०६४ मा कञ्चनपुर– ४ र २०७० मा कैलाली– ६ बाट पनि विजयी भएका थिए । 

    उनी विसं २०४८ मा सांसद बनेपछि गृहमन्त्री भएका थिए । सिं २०५१ को मध्यावधि निर्वाचनपछि बनेको मनमोहन अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेपछि २०५२ सालमा देउवाको नेतृत्वमा नै सरकार गठन भएको थियो । 

    त्यसपछि २०५९, २०६१, २०७४, २०७८ मा गरी उनी पाँच पटक प्रधानमन्त्री भएका छन् । आगामी मङ्सिर ४ गतेको निर्वाचनमा भने देउवालाई हालको सत्ता साझेदार गठबन्धनको पनि समर्थन रहेको छ । देउवासँगै तीन पटक प्रतिस्पर्धा गरेका नेकपा माओवादीका खगराज भट्ट अहिले प्रदेशसभाका लागि गठबन्धनबाटै चुनाव लड्दै छन्  । 

    डडेल्धुरा जिल्ला जहिले पनि प्रजातन्त्रका पक्षमा उभिएकाले प्रतिनिधिसभा र प्रदेशसभा गरी तीनवटै क्षेत्रमा अहिले पनि गठबन्दनका नेताले जित हासिल गर्ने कांग्रेसका जिल्ला सभापति भीमबहादुर साउँदले बताए ।

    उनले प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामात्र नभएर सिङ्गो सुदूरपश्चिमको विकासमा आफ्नो जीवनकाल खर्चिएकाले उनले उम्मेदवारी दिएपछि यहाँका नागरिकमा अर्को कुनै विकल्प नहुने धारणा राखे । नेपाली कांग्रेसलगायत सत्ता गठबन्धन दलले उम्मेदवारी दर्ताको समय आज २ बजेका लागि तय गरिएको जनाएका छन् । 


    images
    images

    Logo