काठमाडौं । विश्व बैंकले नेपालको अर्थतन्त्र चालू आर्थिक वर्ष २०७९/८० मा ५.१ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ । आगामी आवमा भने अर्थतन्त्रको विस्तार ४.९ प्रतिशतमा खुम्चिने उसको प्रक्षेपण छ । सरकारले चालू आर्थिक वर्ष २०७९/८० का लागि आर्थिक वृद्धिदरको लक्ष्य ८ प्रतिशत निर्धारण गरेको छ ।
विश्व बैंकको पछिल्लो अपडेटमा मौद्रिक नीतिको सामान्यीकरण, महामारीका बेला दिइएको मौद्रिक सहुलियतको अन्त्य र अभैm पनि तुलनात्मक रूपमा वस्तुको उच्च मूल्यको परिणामस्वरूप नेपाली अर्थतन्त्रले उक्त दरको आर्थिक प्रगति प्राप्त गर्ने उल्लेख छ ।
बिहीवार सार्वजनिक गरिएको दक्षिण एशियामा केन्द्रित ‘कपिङ विद सक्स : माइग्रेसन एन्ड द रोड टू रिसिलियन्स’ नामको अपडेटले यो वर्षको क्षेत्रीय विस्तार औसत ५.८ प्रतिशत हुने अनुमान गरेको छ । यो गत जुनमा विश्व बैंकले नै गरेको प्रक्षेपणको तुलनामा १ प्रतिशत विन्दुले कम हो ।
सन् २०२१ मा क्षेत्रीय वृद्धि ७.८ प्रतिशत थियो, जुन वर्ष अधिकांश मुलुकहरू महामारीजन्य मन्दीबाट सामान्य अवस्थामा फर्केका थिए । यसको परिमाणस्वरूप श्रीलंकाको विदेशी विनिमय सञ्चिति रित्तिएको र विदेशी ऋण धान्नै नसक्ने अवस्थामा पुगेको विश्व बैंकको विज्ञप्तिमा उल्लेख छ । इतिहासकै सबैभन्दा खराब अर्थिक संकटको सामना गरिरहेको श्रीलंकाको वास्तविक कुल गार्हस्थ्य उत्पादन यो वर्ष ९.२ प्रतिशतले र आगामी वर्ष २०२३ मा ४.२ प्रतिशतले तल झर्ने प्रक्षेपण गरिएको छ ।
चर्को महँगीले पाकिस्तानमा पनि विदेशी मुद्रा सञ्चिति रित्याउँदै बाह्य असन्तुलनलाई अझ खराब बनाएको छ । त्यस्तै प्राकृतिक विपत्तिले पाकिस्तानको बालीनालीको एक तिहाइ अंश डुबानमा परेको छ ।



