भक्तपुर । भक्तपुर क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको लागि संघीय सरकार प्रतिनिधि सभा सदस्य पदमा दुर्लभ थापाले टिकट पाएका छन् । काँग्रेसको शीर्ष नेतृत्वको बैठकले भक्तपुर २ बाट उनलाई टिकट दिने निर्णय गरेको हो । यसअघि जिल्ला समितिबाट सो क्षेत्रको लागि उनको नाम सर्वसम्मत सिफारिस भएको थियो ।
थापा नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघबाट राजनीति यात्रा सुरु गरेका हुन् । पिता शिक्षक भएपनि प्रजातान्त्रिक आन्दोलनमा होमिएका कारण पनि थापाले सानै देखि राजनीति बुझ्ने मौका पाए। पितालाई भेट्न घरमा नेताहरू आइरहने हुनाले नेपाली कांग्रेसको पृष्ठभूमि सानै उमेर देखि थाहा थियो।
विद्यार्थी जीवन कालमा मीनभवन क्याम्पसमा नेपाल विद्यार्थी संघबाट विभिन्न आन्दोलनहरूमा प्रहरीको धरपकड र जेल समेत परेका छन्। कुशल नेतृत्वकर्ता र निडर स्वभावका थापा युवा र जेष्ठ नेताहरूमाझ लोकप्रिय छन् ।
नेपाली कांग्रेसको बाह्रौं महाधिवेशनमा मनोनित जिल्ला सदस्य भएका थापा नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनमा भक्तपुर जिल्ला सभापतिमा विजयी भए । पार्टीको चौधौं महाधिवेशनमा भक्तपुर सभापतिमा पुन: निर्वाचित उनी अहिले सोही जिम्मेवारीमा छन् ।
थापा कुशल संगठक हुन्। २०७४ को स्थानीय निर्वाचन, प्रदेश र संघको निर्वाचनमा नेपाली कांग्रेसले भक्तपुरमा नराम्ररी पराजय भोगेपछि थापाले सम्पूर्ण पराजयको जिम्मा लिँदै नेपाली कांग्रेसलाई १ नम्वरको पार्टी बनाउने उद्घोष गरेका थिए। फलस्वरुप प्रदेश सभाको उपनिर्वाचनमा कांग्रेसलाई विजय बनाउन सफल भए। हालै सम्पन्न स्थानीय निर्वाचनमा २ वटा नगरपालिकामा प्रमुखसहित ६५ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।
थापाकै प्रभावका कारण भक्तपुरले प्रदेश मन्त्री र प्रदेश राज्य मन्त्री पाउन सफल भयो । काँग्रेस नेतृत्वमा सरकार गठनपछि मात्रै भक्तपुरमा २ अर्ब भन्दा बढी विकास बजेट विनियोजन पनि भएको छ।



