काठमाडौं । देशकै प्रमुख व्यापारीक नाका वीरगञ्जबाट इन्धनको आयातमा कमी आएको छ । वीरगञ्ज नाका प्रयोग गरी डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यास आयातमा १७ प्रतिशतले कमी आएको पाइएको छ ।
गत आर्थिक वर्षको साउन र भदौमा वीरगञ्ज नाकाबाट २० अर्ब ४ करोड ४३ लाख रुपैयाँ मूल्यको २ लाख २७ हजार ५ सय ३६ किलोलिटर इन्धन आयात भएको थियो । चालु आर्थिक बर्षको सोही अवधिमा ९ अर्ब २० करोड ७३ लाख रुपैयाँको १ लाख ९० हजार ९ किलोलिटर इन्धन आयात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए ।
गत आर्थिक बर्षको तुलनामा चालु आर्थिक बर्षको साउन र भदौमा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले आयातमा कमी आएको उनले बताए । खरिद मूल्यमा भने ४५.९३ प्रतिशतले वृद्धि भएको उनको भनाइ छ ।
गत आर्थिक बर्षको पहिलो २ महिनामा वीरगञ्ज नाकाबाट १० अर्ब १३ करोड रुपैयाँ मूल्यको १ लाख ४८ हजार ४ सय ६० किलोलिटर डिजेल, ४ अर्ब ६३ करोड मूल्यको ६२ हजार ७ सय ३२ किलोलिटर पेट्रोल, १ अर्ब ९८ लाख रुपैयाँ मूल्यको १५ हजार ३ सय ६४ किलोलिटर हवाई इन्धन, ७ करोड ७४ लाख रुपैयाँ मूल्यको ९ सय ८० किलोलिटर मट्टितेल र ४ अर्ब १९ करोड रुपैयाँ मूल्यको ४३ हजार ६सय २४ मेट्रिकटन खाना पकाउने ग्यास आयात भएको छ ।
चालु आर्थिक बर्षको सोही अवधिमा १३ अर्ब ९५ करोड रुपैयाँ मूल्यको १ लाख सात हजार ४ सय ६ किलोलिटर डिजेल, ७ अर्ब ५३ लाख रुपैयाँ मूल्यको ६२ हजार ७ सय ६० किलोलिटर पेट्रोल, २ अर्ब ४२ करोड रुपैयाँ मूल्यको १८ हजार ९ सय ८० किलोलिटर हवाई इन्धन, १२ करोड १५ लाख रुपैयाँ मूल्यको ८ सय ८० किलोलिटर मट्टितेल र ५ अर्ब ७४ रुपैयाँ मूल्यको ४२ हजार ५ सय ६२ मेट्रिकटन खाना पकाउने ग्यास आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
वीरगञ्ज नाकाबाट इन्धनको आयात घटे पनि त्यसबाट सङ्कलित हुने राजश्व भने दुई प्रतिशतले बढेको छ । गत आर्थिक बर्षको पहिलो दुई महिनामा ९ अर्ब ६६ करोड ९६ लाख रुपैयाँ राजश्व सङ्कलन भएको थियो ।
चालु आर्थिक बर्षको सोही अवधिमा १६ करोड ७२ लाख रुपैयाँ बढी अर्थात् ९ अर्ब ८३ करोड ६९ लाख रुपैयाँ राजश्व सङ्कलन भएको छ ।



