images
images

शाकाहारीको दशैँ : बजार महङ्गो, किलोमै १५० बढ्यो पनिर 


  • 519
    SHARES
  • २०७९ आश्विन १७ गते सोमबार

    शाकाहारीको दशैँ : बजार महङ्गो, किलोमै १५० बढ्यो पनिर 

    काठमाडौं ।  बडादशैं भन्ने बित्तिकै खानेकुरामा मासु नै विशेष मान्ने गरिन्छ । तर मासु नखाने शाकाहारीले कसरी दशैं मनाउँछन् भन्ने आम मानिसको चासोको विषय हुने गरेको छ ।

    नेपालीको महान् पर्व बडादशैंमा मांसाहारीले मासु खाएजस्तै शाकाहारीले पनि अन्य मीठा परिकार खाने गर्छन् । पनिर, च्याउका विभिन्न प्रजाति, फलफूल, गुँदपाकजस्ता परिकार खाएर शाकाहारीले दशैं मनाउँछन् । बजारमा भने शाकाहारीका लागि यी सामग्री पाउन नै मुस्किल हुने र पाए पनि ताजा नपाउने गरेको उपभोक्ताको गुनासो छ ।

    बागबजारस्थित तरकारी बजारमा शाकाहारी दशैंको सामान लिन आएकी डिल्लीबजारकी रमा सत्याल दशैंका समयमा च्याउ, काउलीजस्ता तरकारी ताजा नपाउने गरेको अनुभव सुनाउछिन् । खसीबजारसँगैको यो तरकारी बजारमा दुई चार दिनअघि नै ल्याएका तरकारी पाइएको उनले सुनाइन् । बजारमा काउली कालो कालोमात्र भेटिएको छ ।

    विगत १० वर्षदेखि यहाँ तरकारी व्यवसाय गरी आएका काभे्रपलाञ्चोक जिल्लाका मङ्गलबहादुर तामाङ अन्य समयको तुलनामा दशैँमा तरकारी किन्न कम मानिस आउने भएकाले पनि ताजा तरकारी ल्याउन नसकिएको स्वीकार गर्छन् । यो समयमा कालिमाटी, बल्खुजस्ता थोक तरकारी बिक्रीस्थलमै ताजा तरकारी नपाइने गरेको पनि उनले बताए ।

    दशैँमा सबैले मासु खान्छन् तरकारी किन्न आउँदैनन् भनेर ताजा तरकारी नआएको हुनसक्ने असनको तरकारी बजारमा भेटिएका दुर्गादत्त पन्तले बताए । मांसाहारीका सङ्ख्या धेरै भए पनि शाकाहारीले तरकारी पनि माग गर्छन् भन्नेमा ध्यान जान नसकेको उनले अनुभव सुनाए । दशैँका बेला कालीमाटीकै तरकारी बजार पनि सुनसान हुने गरेको छ । 

    बाहिरबाट तरकारी बिक्री गर्नेहरु पनि दसैँ मान्न व्यस्त हुने भएकाले समेत यो बेला ताजा तरकारी नपाइएको उपभोक्ता बताउँछन् । तरकारी व्यवसायी यो बेला कमैले मात्र पसल खोलेका हुन्छन् । धेरै जना भने दशैँ मनाउनमै व्यस्त हुने गरेका छन् । बजारमा खसी, बोकाको अनुगमन भए पनि यो बेला तरकारी बजारको भने अनुगमन नगरिँदा पनि तरकारीको भाउ बढ्ने गरेको छ ।

    मासुको भाउ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तोकेको छ । जिउँदो खसीको मूल्य प्रतिकिलो रु सात सय ३० तोेकेकाले त्यही हाराहारीमा बजारमा बिक्री भएको छ । तर तरकारीको भने कालिमाटी बजारले पनि दसैँमा बजारलाई आफूखुसी छोडेको हो कि भन्ने उपभोक्ताको गुनासो छ ।

    बजारमा पनिरको भाउ पनि विगतका दशैँमा भन्दा बढेको उपभोक्ताको भनाइ छ । गत वर्ष दशैँमा ७ सय ५० कममै प्रतिकिलोग्राम पनिर पाएका उपभोक्ताले यस वर्ष भने गत वर्ष भन्दा १ सय ५० सम्म बढी तिरेको सुनाए । यो वर्ष बजारमा पनिरको भाउ ८ सय ५० देखि ९ सयसम्म छ । च्याउको प्रजातिको मूल्य पनि बढेको छ ।

    मिठाइको भाउ पनि विगत वर्षको भन्दा बढेको छ । बजारमा ताजा मिठाइ पनि दशैँमा पाउन नसकिएको चावहिलका स्थानीयवासी राजेन्द्र नेपाल बताउछन् । दशैँमा शाकाहारीले बजारबाट मिठाइ किनेर ल्याउँदा ताजा पाउन नसकिएको उनले सुनाए । बजार व्यवस्थापन एवं अनुगमनमा स्थानीय सरकारको ध्यान नजाँदा उपभोक्ता यस्तो मर्का सहन बाध्य हुनुपरेको हो ।


    images
    images

    Logo