काठमाडौं । यस वर्ष टीकाको दिन पानी पर्ने सम्भावना रहेको छ । दशैंको नवमी र टिकाको दिन पानी पर्ने र सडक तथा हवाई यातायात सेवा प्रभावित हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो ।
नवमीदेखि नेपालमा वर्षा सुरु हुने र द्वादशीसम्मै कायम रहने भएको छ। यसबीचमा पश्चिम नेपालका केही स्थानमा अति भारी वर्षाको सम्भावना समेत देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागले पनि दशैं विशेष मनसुन बुलेटिन जारी गर्दै असोज १८ गते नवमीको दिन देशभर आंशिक देखि सामान्यतया बदली रही प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशहरूका केही र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, असोज १९ गते विजया दशमीको दिन देशभर सामान्य देखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनुको साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
असोज २० गते एकादशी र २१ गते द्वादशीको दिनमा पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ भने तसर्थ यी दिनहरूमा देशको पहाडी भू(भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, सडक तथा हवाई यातायात र कृषि लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ ।



