काठमाडौं । नवरात्रको छैटौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्परा अनुरूप आश्विन शुक्ल षष्टी तिथिमा कात्यायनीको पूजा–आराधना गरिएको हो।
प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ।पुराणअनुसार कात्यायनको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिएकी थिइन्। महिषासुर नामक दैत्यको विनाशका लागि ब्रह्मा, विष्णु र महेश्वरको अंशबाट देवी उत्पन्न भइन्।
यिनै कात्यायन ऋषिद्वारा पूजित भएकीले यिनको नाम कात्यायनी भएको हो। नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । विशेषगरी काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, भक्तपुरको नाला भगवती, काभ्रेको पलाञ्चोक भगवती, ताप्लेजुङको पाथीभारा, मन्दिरमा विशेष पूजा आराधना हुने गर्छ ।
दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ। यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ।



