काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको बेला सञ्चार माध्यममा सम्प्रेषण भएका सामग्रीको अनुगमन निर्वाचन आयोग आफैले गर्ने विषयप्रति नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ ।
आयोगले निर्वाचनमा मिडियाहरुको अनुमगन र निगरानी गर्ने नाममा नेपाली सेना, नेपाल प्रहरीको साइबर ब्युरोसमेत राखेर संयन्त्र निर्माणले गरेकाले प्रेसको संवैधानिक र स्वतन्त्रतामाथि आयोगले नियन्त्रण गर्न खोजेको युनियनको ठहर छ ।
मिडियाले आचारसंहिता पालना गरे नगरेको विषयमा उजुरी लिने र आवश्यक कारबाही गर्ने अधिकार प्रेस काउन्सिल नेपाललाई मात्रै छ । आयोगले आफैं कार्यविधि बनाएर सञ्चारमाध्यम र सामाजिक संजालमाथि निगरानी गर्ने निर्णय गरेकाले उक्त निर्णय तत्काल सच्याउन आयोगलाई युनियनले आग्रह समेत गरेको छ ।
आयोगले नेपाली सेनाको साइबर ब्युरो र नेपाल प्रहरीको साइबर ब्युरोको प्रतिनिधि राखेर प्रेस अफिसु समेत स्थापना गरेको छ । जसले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता र प्रेसको संवैधानिक स्वतन्त्रतामाथि नियन्त्रण गर्न खोजेको युनियनको आराेप छ । साथै आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर कुनै पनि काम कारबाही नगर्न पनि युनियनले आग्रह गरेको छ ।
स्वच्छ, निष्पक्ष, र भयरहित ढंगले निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पाएको आयोगलाई मिडिया अनुगमन गर्ने नाममा हतियार बोक्ने सशस्त्र निकायको संलग्नतामा मिडियालाई त्रसित बनाउने र नियन्त्रण गर्ने प्रयासको गरेको भन्दै प्रेस युनियनले घोर आपत्ति जनाएको छ ।



