काठमाडौं । त्रियुगा नगरपालिकाका मेयर वसन्त बस्नेतले उदयपुर अस्पताललाई सञ्चालन गर्ने जिम्मा आफूले लिने बताएका छन् । शुक्रबार अस्पताललाई डेँगु परीक्षण कीट हस्तान्तरण गर्दै उनले जिल्ला अस्पतालको रुपमा रहेको उदयपुर अस्पताल सञ्चालनको जिम्मा पाए नगरपालिका तयार रहेको बताएका हुन् ।
‘यो अस्पताललाई अरुले नहेरेपनि त्रियुगा नगरपालिका हाम्रो साथमा छ भन्ने सोच्नु र हामीले पनि केही राम्रो गर्नु र सोच्नुपर्छ भन्ने सोच्नु’, उनले भने ।
उनले आफु निर्वाचित भएर आएदेखि नै स्वास्थ्य सेवाको सुधारका लागि संघीय तथा प्रदेश मन्त्रालयमा धेरै धाइरहेको समेत बताए ।
उनले प्रशासनदेखि लिएर विभिन्न राजनीतिक दलसँग स्वास्थ्य सुधारका बारेमा निरन्तर छलफल गर्दै आएको बताउँदै केही दिन अघिमात्रै मन्त्रालयको सहयोगमा जिल्ला अस्पतालका लागि औषधि ल्याएको उल्लेख गरे ।
‘मन्त्रालयबाट डायलासिस मेसिनदेखि लिएर अन्य सहयोग पनि आउने प्रक्रियामा छ,’ उनले भने, ‘मन्त्रालयमा अहिले डायलासिस मेसिन नभएको र दशैँपछि ल्याएर दिन्छौँ भन्ने प्रतिबद्धता उहाँहरुले जनाउनुभएको छ।’

जिल्ला अस्पतालले अहिले फैलिरहेको डेँगुलगायत प्रकोपलाई एक्लै नियन्त्रण गर्न नसक्ने र यसका लागि एउटा स्थानीय तह एक्लैले गरेर पनि सम्भव नभएको उल्लेख गरे । यसका लागि सबै पालिकाबाट आर्थिक सहयोग जुटाएर कुनै दक्ष डक्टरलाई बोलाउन उनले आग्रह गरे ।
‘सबै पालिकाबाट आर्थिक सहयोग जुटाएर अस्पताललाई अलि व्यवस्थित बनाउँ, विशेषज्ञ डाक्टरहरुलाई ल्याएर उहाँलाई केही इन्सेटिभ हामीले स्थानीय तहको कोषबाट पनि दिउँ, सरकारले पनि दिनपर्छ, यसोगर्दा डाक्टरलाई पनि अलि सुविधा बढ्छ र डाक्टरहरु पनि बस्नुहुन्छ भन्ने मलाई लाग्छ।’
यहाँका ८ वटै पालिकाका बिरामीहरु र खोटाङका ७० प्रतिशत बिरामी यो अस्पतालमा आउने गरेका छन् । तर पनि अस्पताल अझै ओझेलमा परेको भन्दै उनले दुःख प्रकट गरे । डेँगुको महामारीमा रोग परीक्षण गर्ने किट अस्पतालमा अभाव भएको थाहा पाएपछि नगरपालिकाले तत्काल ५ सय किट व्यवस्था गरेको समेत उनले बताए ।

५ सय किटमध्ये २ सय जिल्ला अस्पताललाई, १ सय नगरपालिकाद्वारा सञ्चालित देउरी स्वास्थ्य केन्द्रलाई वितरण गरेर बाँकी २०० किट त्रियुगाले जगेडा राखेको छ । वस्नेतले महामारीका कारणले डेँगु परीक्षण गर्न अस्पतालमा किट छैन भन्ने थाहा पाएपछि तुरुन्तै किटका लागि पहल सुरु गरेको बताए ।उनले भने, ुयसका साथै भोली केही अप्ठ्यारो पर्दा चाहिन्छ भनेर केही फण्डहरु समेत हामीले जोगाएर राखेका छौँ ।’
वस्नेतले स्वास्थ्य क्षेत्रमा त्रियुगा नगरपालिका पूर्ण संवेदनशील भएर लागेको भन्दै अस्पतालका लागि नगरपालिकाले ११(१२ जना स्टाफ आफैँले पठाएर सहयोग गरेको उल्लेख गरे ।



