काठमाडौं । हरित उर्जाको उत्पादन तथा प्रयोगलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपालमा पहिलोपटक ग्रीन हाइड्रोजन समिट हुने भएको छ । एमआईटी ग्रुप फाउण्डेसन र ग्लोबल एनआरएन फाउण्डेसनको संयुक्त आयोजना तथा अर्थ मन्त्रालय र उर्जा मन्त्रालयको सहकार्यमा यस्तो सम्मेलन गर्न लागिएको हो ।
आगामी असोज २४ र २५ गते (अक्टोबर १० र ११ तारिख) का दिन उक्त सम्मेलन गर्ने तयारी गरिएको छ । सम्मेलनमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, अर्थ मन्त्री जनार्दन शर्मा, गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्षसमेत रहेका एमआईटी समूहका संस्थापक शेष घले, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापा, विश्वविद्यालयकै हाइड्रोजन इनिसियटिभका कार्यक्रम प्रमुख डा. विराजसिंह थापा, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायत व्यक्तिहरू मुख्य वक्ताको रूपमा रहने जनाइएको छ ।