images
images

दशैँमा २० लाखले काठमाडौँ उपत्यका छोड्ने


  • 392
    SHARES
  • २०७९ आश्विन १० गते सोमबार

    दशैँमा २० लाखले काठमाडौँ उपत्यका छोड्ने

    काठमाडौं । बडादशैँमा काठमाडौँ उपत्यकाबाट आआफ्नो स्थायी घर फर्कने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ । अहिले दैनिकरुपमा नागढुङ्गा, साँगाभञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या दैनिक ५० हजार भन्दामाथि रहेको छ । यस पटक दसैँमा करिब २० लाख व्यक्ति उपत्यकाबाट बाहिर जाने अनुमान गरिएको महानगरीय ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताए ।

    अघिल्लो दुई आर्थिक वर्षमा कोरानालगायत कारणले दशैँका बेला पनि उपत्यकाबाट बाहिर जानेको सङ्ख्या न्यून थियो । तीन वर्षअघि काठमाडौँ उपत्यकाबाट दसैँका अवसरमा घर फर्कनेको सङ्ख्या २० लाखको हाराहारीमा रहेको तथ्याङ्क छ ।
      
    दसैँमा घर जाने यात्रुलाई सहजीकरण गर्न ट्राफिक प्रहरीले गोंगबु, चाबहिल, कोटेश्वर, कलङ्कीलगायत उपत्यकाका १४ यात्रु सहायता कक्ष स्थापना गरेको छ ।
     
    यातायात व्यवस्था कार्यालय, यातायात व्यवसायी र ट्राफिक प्रहरी  सवारीको समन्वयमा स्थापना गरिएका त्यस्ता कक्षबाट गन्तव्यस्थल जान सवारीसाधन नपाउने तथा विभिन्न कारणले अप्ठ्यारोमा परेका यात्रुलाई सहजीकरण गर्नेछ ।
      
    सवारी चाप र भिडभाडका कारण हुनसक्ने चोरी र पाकेट मार नियन्त्रण, क्षमताभन्दा बढी चढाउने सवारी साधनलाई कारवाही गर्न सादा पोशाकमा पनि प्रहरी खटिने प्रवक्ता भट्टले जानकारी दिए ।
      
    महानगरीय ट्राफिक प्रहरी कार्यालयले दसैँ मनाउन घर फर्कने यात्रुको बढी चापलगायतका कारणले सवारी दुर्घटना हुनसक्ने भएकाले चालकले तीव्र गति वा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाएमा खबर गर्न आग्रह गरेको छ । यातयात व्यवसायीले पनि दशैँका लागि पर्याप्त सवारीसाधन उपलब्ध हुने प्रतिबद्धता जनाउँदै सवारी साधनको अभाव नहुने भएकाले यात्रुलाई ढुक्क भएर टिकट लिएर मात्र गन्तव्यतर्फ प्रस्थान गर्न सुझाव दिएको छ ।

    अहिले उपत्यका भित्रने सवारी साधनको तुलनामा बाहिर जाने सवारी साधन र यात्रुको सङ्ख्या उल्लेख्यरुपमा वृद्धि भएको छ । प्रहरीले छतमा नचढ्न, सवारीसाधनमा नझुण्डिन र कसरी यात्रा गर्दा सुरक्षित हुन्छ त्यसतर्फ आफैँ सचेत रहन सबै यात्रुसँग आग्रह गरेको छ । 


    images
    images

    Logo