images
images

किन भयो हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द ?


  • 468
    SHARES
  • २०७९ आश्विन ९ गते आइतबार

    किन भयो हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द ?

    काठमाडौं । सरकरी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको सिमेन्ट उत्पादन हाल बन्द भएको छ । लामो समयदेखि निरन्तर घाटामा रहेको सो उद्योगको सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादन कार्य ठप्प भएको उद्योग प्रशासनले जनाएको छ ।  

    कोइलाको अभावले विगत एक महिनादेखि सिमेन्ट उत्पादन बन्द भएको हो । उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेका अनुसार कोइला खरीदका लागि टेण्डर भइसकेकोले छिटै समस्या समाधान हुनेछ । उनले दशैँको बिदापछि उत्पादन सुरु हुने जानकारी दिए ।

    एक पटक टेण्डर गर्दा १३ हजार टन कोइला ट्रकमा ढुवानी भई आपूर्ति हुने गरेको छ । कोइलाको माध्यमबाट सिमेन्ट उत्पादनका लागि चाहिने कच्चा पदार्थ क्लिङ्कर बनाउने गरिन्छ । क्लिङ्कर अभावका कारण सिमेन्ट उत्पादन हुन सकेको छैन ।

    दैनिक  सात सय  ५० मेट्रिकटन र वार्षिक २ लाख ६० हजार  मेट्रिकटन  सिमेन्ट उत्पादन गर्ने उद्योगको भए पनि हाल उद्योग सञ्चालनको समयमा क्षमताभन्दा आधा अर्थात करिब चारदेखि पाँचसय मेट्रिकटन सिमेन्ट उत्पादन  हुने गरेको महाप्रबन्धक पाण्डे जानकारी दिए । उत्पादन क्षमता र बिक्रीसमेत घट्दा उद्योगले निरन्तर घाटा बेहोरिरहेको छ ।

    उद्योगले  पछिल्लो चार वर्षदेखि निरन्तर घाटा बेहोरिरहेको छ । उद्योगबाट प्राप्त जानकारीअनुसार आर्थिक वर्ष २०७५/७६ देखि २०७८/७९ सम्ममा उद्योगलाई ६५ करोड ४७ लाख १६ हजार ७८२ नोक्सान भएको छ । 

    आर्थिक वर्ष २०७४/७५ मा १६ करोड ३६ लाख नाफा कमाएको सो उद्योग त्यसपछि निरन्तर घाटामा गएको तथ्याङ्कले देखाएको । आव २०७५/७६ मा उधोगले १ करोड ५ लाख नोक्सानी बेहोरेको थियो । त्यसपछि आव २०७६/७७ मा २३ करोड ८२ लाख, २०७७/७८ मा  १७ करोड चार लाख उद्योगलाई घाटा भएको थियो । गत आर्थिक वर्षमा उद्योगले १ अर्ब २२ करोड आम्दनी गरेर १ अर्ब ३९ करोड खर्च गरेको बताइएको छ । गत आर्थिक वर्ष उद्योगको नोक्सानी २३ करोड रु ५५ लाख रहेको  छ ।

    कर्मचारी, उपकरण, पुरानो प्रविधि, बजारको अभाव, मूल्य समायोजन, प्रतिस्पर्धात्मक बजारलगायतका उद्योगमा समस्या रहेको महाप्रबन्धक पाण्डेले जानकारी दिए ।  उनले उद्योगको वर्तमान समस्या  हटाउन र नाफामूलक बनाउनका लागि केही योजना अगाडि बढाइएको बताए ।  


    images
    images

    Logo