काठमाडौं । व्याजदर बढाउने निर्णयपछि बैंकहरुको निक्षेप ह्वात्तै बढेको छ । बैंकर्ष संघले असोज १ गतेदेखि निक्षेपको व्याजदर बढाउने निर्णय गरेसँगै बैंकहरुमा एकैदिन १६ अर्ब रुपैयाँले निक्षेप थपिएको छ । असोज ५ गते बैंकहरुमा सो रकम बराबरको निक्षेप थपिएको हो ।
राष्ट्र बैंकका अनुसार असोज ४ गते बैंकहरुको निक्षेप ५० खर्ब ९० अर्ब रुपैयाँ रहेको थियो । ५ गते एकैदिन १६ अर्ब रुपैयाँले बढेर ५१खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, सोही समयमा वाणिज्य बैंकको निक्षेप पनि एकैदिन १६अर्ब रुपैयाँले बढेको छ । ४ गते ४४ खर्ब ८८ अर्ब रहेको निक्षेप ५ गते एकैदिन १६ अर्बले बढेर ४५ खर्ब ४ अर्ब रुपैयाँमा पुगेको छ ।
वाणिज्य बैंकहरुको निक्षेप १६ अर्बले बढ्दा अन्य बैंक तथा वित्तीय क्षेत्रको निक्षेप भने १ अर्ब रुपैयाँले घटेको छ । ४ गते ६ खर्ब २ अर्ब रुपैयाँ रहेको निक्षेप ५ गते १ अर्बले घटेर ६ खर्ब १ अर्ब रुपैयाँमा झरेको छ ।
सोही समयमा वाणिज्य बैंकको कर्जा लगानी १ अर्बले बढ्दा अन्य बैंक तथा वित्तीय क्षेत्रहरुको कर्जा लगानी स्थिर रहेको छ । असोज ५ गते वाणिज्य बैंकको कर्जा लगानी ४७ खर्ब २३ अर्ब रुपैयाँ रहेको छ भने अन्य बैंक तथा वित्तीय क्षेत्रहरुको कर्जा लगानी ५ खर्ब ३८ अर्ब रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, सो समयमा बैंकहरुको सीडी रेसियो पनि घटेको छ । असोज ४ गते बैंकहरुको सीडी रेसियो ८७.५९ प्रतिशतबाट घटेर ८७.३० प्रतिशतमा झरेको छ भने अन्तरबैंक व्याजदर ८.५० प्रतिशत रहेको छ ।



