काठमाडौं । आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेडले लगानी कोष प्रबन्धकको रूपमा काम गर्ने गरी अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत सो कम्पनीलाई लगानी कोष स्थापना, व्यवस्थापन र प्रवर्द्धन गर्न अनुमति दिएको हो ।
आध्यन्तले लगानीकर्ताहरूका लागि एउटा वैकल्पिक लगानीको अवसर प्रदान गर्नुका साथै पुँजी र व्यवसायिक साझेदारीको खोजीमा रहेका उच्च वृद्धिको सम्भावना भएका व्यवसायहरू र नवीन उद्यमहरूलाई पूँजीमा पहुँच प्रदान गर्ने कम्पनीले जनाएको छ ।
आध्यन्त नेपाली स्वामित्वको प्राइभेट इक्विटी एवम् भेन्चर क्यापिटल कोष सञ्चालक फर्म हो। आध्यन्तले लगानीकर्ताहरूका लागि एउटा वैकल्पिक लगानीको अवसर प्रदान गर्नुका साथै पुँजी र व्यवसायिक साझेदारीको खोजीमा रहेका उच्च वृद्धिको सम्भावना भएका व्यवसाय र नवीन उद्यमहरूलाई पुँजीमा पहुँच प्रदान गर्ने संस्थापक मनोज पौडेलले बताए ।
आगामी दिनमा नेपालको सम्भावना र आकांक्षालाई सघाउने खालका व्यवसाय र नवउद्यमहरूको स्तरवृद्धि गर्न निजी पुँजीलाई उद्देश्यपूर्ण रूपमा परिचालन गरी राष्ट्रिय पुँजीको विकास गर्ने लक्ष्य राखिएको उनले बताए।
उनले भने ‘हामी सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य प्रप्तिको उद्देश्यसहित नेपाललाई मध्यम आय भएको देशमा स्तरोन्नति गर्न प्राथमिकतामा रहेका क्षेत्रहरू लगायत उद्योग-व्यवसाय, पूर्वाधार, नवउद्यम, र अन्य क्षेत्रहरूमा लगानी परिचालन गर्नेछौं।’



