काठमाडौं । साताको अन्तिम दिन शुक्रबार शेयर बजार १४.१० अंकले घटेर १ हजार ९ सय १० दशमलब ३८ विन्दुमा अडिएको छ । शुक्रबार २ सय २० कम्पनीको ९० करोड ८१ लाख रुपैयाँ बराबरको २९ लाख १६ हजार कित्ता शेयर किनबेच भएको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको शेयर कारोबार ९० करोडमा सिमित भएको छ । आज ३० कम्पनीकाे शेयर मुल्य बढेकाे छ । १ सय ५१ कम्पनीकाे शेयर मुल्य घटेकाे छ भने ५ कम्पनीकाे शेयर मुल्यमा स्थिर आएकाे छ ।
शुक्रबार १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। सो उपसमूहको परिसूचक यस दिन ०.०१ प्रतिशत बढेको छ। कारोबारमा आएको विकास बैंक, वित्त, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।
सबैभन्दा धेरै रिडि पावर कम्पनीको ४ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन हिमालयन डिष्टिलरी र नबिल बैंकको ३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
यस दिन कारोबारमा आएको नबिल ब्यालेन्स्ड फण्ड २ को इकाईमूल्य सर्वाधिक ७.८७ प्रतिशत बढेको छ। त्यसैगरी, बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशत बढेको छ ।



