काठमाडौं । असोजदेखि लागू हुनेगरी निक्षेपको ब्याजदर बढ्ने भएपछि सेयर बजार घटेको छ । बैंकर्स संघले विगत ६ महिनादेखि निक्षेपमा ब्याजदर नबढाउने गरी भद्र सहमति तोड्ने निर्णय गरेसँगै आज शेयर बजारमा पनि ओरालो लागेको हो।वाणिज्य बैंकहरुले गत फागुनदेखि निक्षेपको ब्याजदर बढाएका थिएनन्।
बिहीबार नेप्से सूचक ५७ अंकले घटेर १ हजार ९ सय २४ दशमलव ४८ विन्दुमा झरेको छ । आज २ सय २३ स्क्रिपको २ अर्ब १२ करोड रुपैयाँ बराबरको ६९ लाख ४० हजार कित्ता शेयर किनबेच भएको छ । बिहीबार वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.२४ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी घटेको छ ।
आज शेयर बजारमा सो बराबरको गिरावट आउँदा पनि सवैभन्दा धेरै लक्ष्मी बैंक लिमिटेडको २१ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ भने रिडी हाइड्रोपावरको ११ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै,अपि पावरको ७ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ भने एनटिसीको ६ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ ।
यस दिन सिटिजन्स म्युचुअल फण्ड २ को इकाईमूल्य सर्वाधिक ४.१२ प्रतिशत बढेको छ। त्यसैगरी, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ४ प्रतिशत बढेको छ। एनआइसी एसिया फ्लेक्सी क्याप फण्डको सबैभन्दा बढी गिरावट भएको छ ।



