images
images

बुटवल–लुम्बिनी प्रसारण लाइन तथा सबस्टेसनको उद्घाटन, उद्योगले मागेजति विद्युत दिने


  • 241
    SHARES
  • २०७९ भाद्र २० गते सोमबार

    बुटवल–लुम्बिनी प्रसारण लाइन तथा सबस्टेसनको उद्घाटन, उद्योगले मागेजति विद्युत दिने

    भैरहवा । बुटवल–लुम्बिनी प्रसारण लाइन तथा सबस्टेसनको उद्घाटन भएको छ । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता बृद्धि र प्राविधिक चुहावट नियन्त्रणका निर्माण गरिएको योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गरिएको हो ।

    ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सोमबार सरकार र  नेपाल विद्युत प्राधिकरणको लगानीमा निर्माण सम्पन्न बुटवल–लुम्बिनी डबल सर्किट प्रसारण लाइन र त्यसअन्तर्गतको मैनहिया सबस्टेसनको उद्घाटन गर्नु भएको छ । प्रसारण लाइन र सबस्टेसनको निर्माणसँगै भैरहवा क्षेत्रमा करिब २०० मेगावाट विद्युत प्रवाह गर्न सक्ने पूर्वाधार तयार भएको छ । 

    साथै, भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सुधार भएको छ । उद्घाटन कार्यक्रममा मन्त्री भुसालले आन्तरिक रुपमा खपत गरेर बढी भएको विद्युत अन्तर्राष्ट्रिय बजारमा बिक्री गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको बताए । ‘विद्युत नपुगेको ठाउँमा दुई वर्षभित्रमा विद्युत पुर्याउने र पुगेको ठाउँमा पूर्वाधार निर्माण गरी गुणस्तरीय र भरपर्दो विद्युत आपूर्तिका लागि काम गरिरहेका छौं, यसकासाथै बूढीगण्डकीलगायतका ठूला जलशाययुक्त आयोजना निर्माण गरिने छ,’उनले भने ।

     ‘खाना पकाउन प्रयोग हुने एलपिजी ग्याँसको विस्थापित गर्ने, उद्योगलाई मागेजति विद्युत दिने, यातायातमा विद्युतीय सवारी साधन प्रयोग गर्ने, कृषिको उत्पादकत्व बढाउन सिचाइमा विद्युत प्रयोग गरी अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अगाडि बढ्नु पर्छ ।’ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव शुशीलचन्द्र तिवारीले प्रसारण लाइन र सबस्टेसन निर्माण पछि यस क्षेत्रको विद्युत आपूर्तिमा सुधार हुने विश्वास व्यक्त गरेका छन् ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनबाट बुटवल, भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सुधार भएको र उद्योगहरुलाई मागेजति विद्युत दिन सकिने अवस्था बनेको बताए । बुटवल सबस्टेसनमात्र विद्युत आपूर्ति दिंदा विगतमा समस्या रहेको उल्लेख गर्दै उनले अव यस क्षेत्र विद्युत हब बनेको र वितरण प्रणालीमा सुधार भएको बताए ।

    ‘लोडसेडिङ अन्त्य एउटा काम थियो, अब वितरण प्रणाली सुधार र २४ सै घण्टा भरपर्दो तथा गुणस्तरीय विद्युत आपूर्ति, उद्योगलाई मागजति विद्युत दिन पूर्वाधार विस्तार तथा सुदृढीकरणका लागि काम भइरहेको छ, अहिले आन्तरिक रुपमा खपत गरेर बढी भएको विद्युत दैनिक रुपमा झण्डै १० करोड रुपैयाँको निर्यात गरिरहेका छौं ।’ सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे र जेम्बर अफ कमर्शका जेपी कँडेलले प्रसारण र सबस्टेसन सञ्चालनपछि यस क्षेत्रको विद्युत आपूर्तिमा सुधार भएको उल्लेख गरेका थिए ।

    बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेसनसम्मको १८ किलोमिटर बुटवल–लुम्बिनी प्रसारण लाइनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको हो । १३२/३३/११ केभी मैनहियामा सबस्टेसन सञ्चालनमा ल्याई त्यस क्षेत्रमा विद्युत आपूर्ति दिइएको आयोजना प्रमुख हरी पाण्डेले बताए ।। स्थानीय रुपमा विद्युत आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिने छ । त्यसमध्ये ४ वटा फिडर अहिले सञ्चालनमा रहेका छन् । 

    विद्युतको भोल्टेजको सुधारका लागि २ वटा क्यापासिटर बैंक राखिएको छ । १८ किलोमिटर प्रसारण लाइनमा ५७ वटा टावरको  निर्माण गरिएको छ । बुटवल बजार क्षेत्रमा १३२ केभी प्रसारण लाइनलाई २ किलोमिटर भूमिगत गरिएको छ । प्रसारण लाइन आयोजनाको प्रारम्भिक काम आर्थिक वर्ष २०७०÷७१मा सुरु भएको थियो । रुट परिवर्तन, कोभिड–१९को महामारीलगायतका कारणले आयोजनाको निर्माणमा केही ढिला भएको थियो । आयोजनाको अनुमानित लागत ९५ लाख अमेरिकी डलर रहेको छ ।

    मैनहिया सबस्टेसनबाट भारतको उत्तरप्रदेशसँग विद्युत प्रवाहका लागि १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ । मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसन जोड्ने प्रसारण लाइनको निर्माण अन्तिम चरणमा छ । अहिले उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेकोमा मैनहिया–सम्पत्तिया बन्नेपछि नेपाल–भारतबीचको आन्तरदेशीय विद्युत व्यापारलाई अझ सहज बन्ने छ ।  


    images
    images

    Logo